
सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द समूहसहित चार वाम घटकले संसदीय व्यवस्था अन्त्य र ‘जनगणतन्त्र’ स्थापनाका लागि भन्दै मोर्चाबन्दी गरेका छन् ।
२२ महिनादेखि भूमिगत बनेका चन्द नेतृत्वको नेकपासहित मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र विश्वभक्त दुलाल (आहुति) संयोजक रहेको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालबीच संसदीय व्यवस्थाविरुद्ध सहकार्य गर्न चारबुँदे समझदारी भएको हो ।
चन्द, वैद्य, कट्टेल र दुलालको हस्ताक्षर रहेको विज्ञप्तिमा चारबुँदे समझदारीलाई ‘रणनीतिक संयुक्त मोर्चा’ का रूपमा अर्थ्याइएको छ । नेकपा क्रान्तिकारी माओवादीका वरिष्ठ नेता सीपी गजुरेलले संसदीय व्यवस्था असफल भइसकेकाले यसको विकल्पमा जनगणतन्त्रसहितको शासन प्रणाली स्थापनाको लक्ष्य राखेर मोर्चाबन्दी गरिएको बताए ।
‘झन्डै दुई तिहाइ जनमत पाएर पनि सरकार पाँच वर्ष टिक्दैन भने संसदीय व्यवस्था असफल भएको योभन्दा अर्को प्रमाण के हुन सक्छ ? त्यही भएर हामीले वैज्ञानिक जनवाद अर्थात् जनगणतन्त्र स्थापनाको लक्ष्यसहित क्रान्तिकारी शक्तिबीच रणनीतिक किसिमको मोर्चाबन्दी गरेका हौं,’ उनले भने । जनगणतन्त्र स्थापना र संसदीय व्यवस्थाविरुद्ध एजेन्डा लिएर सडक र जनताबीच आफूहरू जाने उनले बताए ।
चारै घटकले अहिलेको सरकार र संसदीय प्रणालीलाई दलाल र प्रतिक्रियावादी भएको आरोप लगाएका छन् । उनीहरूले संसद् विघटन विदेशीको इसारामा भएको टिप्पणी गरेका छन् । देश र जनताले भोगेका समस्याको जनपक्षीय समाधान र संसद् पुनःस्थापना वा मध्यावधि निर्वाचन सरकार परिवर्तनका लागि मात्रै भएको र जनताका समस्या समाधान गर्न संघीय जनगणतन्त्र स्थापना हुनुपर्ने तर्क चार दलको छ । उनीहरूले माग पूरा गर्न गोलमेच सम्मेलन, सर्वदलीय/सर्वपक्षीय सभा र जनमत संग्रहमा जानुपर्ने तीन प्रमुख एजेन्डा पनि तय गरेका छन् । तर मंगलबार जारी विज्ञप्तिमा यी विषय समावेश गरिएको छैन । आगामी संयुक्त बैठकमा थप छलफल गरेर यी विषयाई सार्वजनिक गर्ने सहमति जुटेको जनाइएको छ ।
मोर्चाबन्दीमा हस्ताक्षर गरेका वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका संयोजक दुलालले एक वर्षदेखि चार दलबीच कार्यगत एकताको पहल भएको बताए । उनले चन्द समूहलाई एकतर्फी रूपमा प्रतिबन्ध गरिएको भन्दै सरकारले निःसर्त प्रतिबन्ध फुकुवा गरेर र नेता/कार्यकर्ताविरुद्ध लगाइएका मुद्दा फिर्ता लिएर शान्तिपूर्ण राजनीति गर्ने वातावरण मिलाउनुपर्ने बताए । मोर्चाले शान्तिपूर्ण रूपमा आफ्ना माग लिएर अघि बढ्ने र त्यस क्रममा दमन र धरपकड भए सामना गर्न तयार रहेको पनि उनको भनाइ छ ।
मोर्चाबन्दी गर्ने कट्टेलबाहेकका तीन घटक १० वर्षे सशस्त्र आन्दोलनमा सँगै थिए । २०६२/६३ पछि शान्तिपूर्ण राजनीतिमा आएसँगै बढेको आन्तरिक विवादले पार्टीबाट उनीहरू अलग भएका थिए । कान्तिपुरबाट ।





प्रतिक्रिया