देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेकपा दाहाल-नेपाल समूहले दोस्रो चरणको कार्यक्रम घोषणा गर्दै

देशान्तर

काठमाडौँ – प्रतिनिधिसभा विघटनपछि विभाजन देखिएको सत्तारूढ नेकपाको दाहाल-नेपाल समूहले आज सरकारविरूद्ध दोस्रो चरणको आन्दोलन घोषणा गर्दैछ । आन्दोलन परिचालन गर्न गठित प्रवक्ता नारायणकाजी श्रेष्ठ नेतृत्वको समितिले अपराह्न ३ बजे पत्रकार सम्मेलनमार्फत दोस्रो चरणको कार्यक्रम घोषणा गर्ने नेता हिमाल शर्माले जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको आन्तरिक द्वन्द्वको सजाय जनप्रतिनिधिको थलो प्रतिनिधिसभालाई बनाएर असंवैधानिक काम गरेको भन्दै दाहाल-नेपाल समूह रूष्ट छ । सो कदमको अरू दलले पनि विरोध गरेपछि संयुक्त आन्दोलन गर्ने तयारीमा जुटेको दाहाल-नेपाल समूहलाई नेपाली कांग्रेसले तत्कालै संयुक्त आन्दोलनमा साथ नदिने भएपछि दोस्रो चरणको आन्दोलनमा जान लागेको हो ।

प्रतिनिधिसभा विघटन भए शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने बनाएर संयुक्त सरकार चलाउने तथा विघटन भए तालमेल गरेर चुनावमा जान ओली-देउवा सहमत भएको सार्वजनिक भएपछि दाहाल-नेपाल समूह संयुक्त आन्दोलनको विकल्पमा पुगेको स्रोतको दाबी छ । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले दिने आदेश अनुसारको कदम चाल्ने कांग्रेसको तयारी छ । कांग्रेस केन्द्रीय सदस्य कल्याण गुरूङका अनुसार चुनाव भए पनि आन्दोलन भए पनि कांग्रेसले कसैसँग सहकार्य गर्ने छैन ।

अबको कार्यक्रममा वडादेखि पालिकासम्म र प्रदेशदेखि केन्द्रसम्म जनपरिचालन हुने गरी घोषणा हुने आन्दोलन परिचालन समितिका एक सदस्यले बताए । जनपरिचालन गर्दा चुनाव भइहाले त्यसको लाभ लिन पनि सकिने दाहाल-नेपाल समूहको ठम्याई छ । संसद विघटनसँगै नेकपा विभाजित भएको थियो । वैधानिकतालाई लिएर दुवै पक्ष निर्वाचन आयोगमा पुगेका छन् । आयोगमा आफ्नो आधिकारिकता पुग्ने गरी दुबै समूहले समानन्तर बैठकमार्फत आफू अनुकलका निर्णयहरू गरेका छन् ।