काठमाण्डौ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूहले पार्टी एकताका बाँकी काम सक्याउन अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा कार्यदल बनाएको छ । पेरिसडाँडामा आइतबार बसेको स्थायी कमिटी बैठकले नेपालको संयोजकत्वमा कार्यदल बनाउने निर्णय गरेको हो ।
कार्यदलले पार्टीभित्रका विभिन्न जिम्मेवारी टुङ्गो लगाउने र एकताका बाँकी काम पूरा गर्ने गरी काम गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। बैठकमा पार्टी एकीकरणका काम पूरा गर्ने, प्रतिनिधि सभा विघटनविरुद्ध घोषित आन्दोलनलाई अझ सशक्त बनाउने लगायतबारे छलफल भएको नेताहरूले बताएका छन् । गएको पुस ५ गने प्रतिनिधि सभा विघटनको घोषणा भएसँगै नेकपा दुई समूहमा विभाजित भएको छ ।
प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री ओलीको कदम असंवैधानिक भएको भन्दै एक महिने आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । आन्दोलनलाई कसरी सशक्त बनाउने भन्नेबारे सोमबार (भोलि) बस्ने स्थायी कमिटी बैठकमा फेरि छलफल गरिने नेताहरूले बताएका छन् ।





प्रतिक्रिया