देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

दाहाल-नेपाल निकट अनेरास्ववियुद्धारा दोस्रो चरणको आन्दोलन घोषणा

देशान्तर

काठमाडौं – संसद विघटनविरुद्ध नेकपा दाहाल-नेपाल निकट अनेरास्ववियुले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । मंगलबार पत्रकार सम्मलेन गर्दै अनेरास्ववियुले आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । घोषणा गरिएका कार्यक्रमहरुमा ओली सरकारका मन्त्रीहरुलाई कालोझण्डा देखाउनेदेखि, लालटिन जुलुस, लाठी जुलुस, प्रधानमन्त्रीको पुत्ला दहनलगायत रहेका छन् ।

त्यस्तै ज्ञापनपत्र बुझाउने, सडक बहस र बयलगाडा प्रदर्शन समेत आन्दोनलका कार्यक्रम तय गरिएको अनेरास्ववियुका सहसंयोजक रञ्जित तामाङले जानकारी दिएका छन् । उनका अनुसार पौष २१ गतेदेखि ओली सरकारका मन्त्रीहरुलाई कालो झण्डा प्रदर्शन गर्ने, २१ गते नै प्रत्येक कलेजमा कालो ब्यानर राखी विरोध प्रदर्शन र कोणसभा गर्ने,पौष २२ गते उपत्यकामा लाल्टिन जुलुस् र उपत्यका बाहिर आवश्यकता अनुसार लाल्टिन, सिट्ठी र लाठी जुलुस गर्ने तथा २३ गते ९ देशव्यापी रुपमा प्रधानमन्त्रीको पुत्ला दहन र २४ गते सिडियो कार्यालयमा ज्ञापनपत्र तथा धर्ना दिने कार्यक्रम छ ।

त्यसैगरी पौष २५ गते ९असंवैधानिक कदम विरुद्ध सडक वहस कार्यक्रम, २६ गते बयलगाडा प्रदर्शन,२७ गते प्रतिगमनबिरुद्ध सडक कविता गीत र गजल कार्यक्रम गर्ने कार्यक्रम अनेरास्ववियुले सार्वजनिक गरेको छ । पौष २८ गते ( सडक नाटक र सडक आर्ट ) स्ट्रिट वाल पेन्टिङ र २९ गते सडकमा प्ले कार्ड सहित कार्टून प्रदर्शनका कार्यक्रम तय गरिएको अनेरास्ववियुले जारी गरेका विज्ञप्तिमा उल्लखे छ । तेस्रो चरणको कार्यक्रम माघ १ गते सार्वजनिक गर्ने समेत सो संगठनले जनाएको छ ।

शैक्षिक कार्यक्रममा संघीय संसदबाट सर्वसम्मत रुपमा जारी गरिएको कालापानी लिपुलेक र लिम्पियाधुरासहितको नक्सामा भएको भुमि फिर्ता गर्न र उक्त भूमिसहित शिक्षा मन्त्रालयले प्रकाशित गरेको पाठ्यसामग्री तत्काल वितरण गर्न सङ्घर्ष गर्ने पनि अनेरास्ववियुले जनाएको छ । त्यसैगरी कक्षा ११ को पाठ्यक्रममा देखिएको अन्यौलता तत्काल अन्त्य गर्न दवावमुलुक कार्यक्रम सञ्चालन गर्ने र कोभिड १९ का कारण अवरुद्ध परीक्षा तत्काल शुरु गर्न र अनलाइन कक्षाको नाममा मनपरी ढङ्गले लिइएको शुल्क खारेज गर्न आन्दोलन गर्ने अनेरास्ववियुको तयारी छ ।