देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेकपा विभाजनसँगै राजदूतहरू फिर्ता बोलाउने गृहकार्य

देशान्तर

सत्तारूढ पार्टीमा विभाजन देखिएलगत्तै ‘कार्यसम्पादन मूल्यांकन’ का नाममा विभिन्न मुलुकका राजदूतलाई फिर्ता बोलाउने गृहकार्य सुरु भएको छ ।

पहिलो चरणमा नेकपाको दाहाल–नेपालसँग बढी सम्बन्ध भएका अस्ट्रेलिया, बहराइन, बंगलादेश, साउदी अरेबिया, डेनमार्कसहितका केही मुलुकमा रहेका राजदूतलाई घर फर्काउन पूर्वतयारी सुरु भएको छ । केन्द्र सरकारदेखि प्रदेश र स्थानीय तहमा समेत सत्तारूढ नेकपाको फुटले ठाडो प्रभाव पारेसँगै सत्तामा रहेको ओली समूहले बाहिरी जगत्मा सन्देश दिने गरी कूटनीतिक वृत्तमा आफ्नो सत्ता स्वार्थको प्रभाव देखाउन चाहेको हो ।

‘आर्थिक हिनामिनाको अपुष्ट कारणकै भरमा’ तत्कालीन माओवादी केन्द्रको कोटाकी राजदूत लक्की शेर्पालाई फिर्ता बोलाइएपछि माओवादीकै कोटामा महेशराज दाहाल नोभेम्बर २०१९ मा अस्ट्रेलिया पुगेका थिए । अध्यक्ष पुष्पकमल दाहालका ‘निकटस्थ’ मानिएका दाहाल माओवादीमा जानुअघि कांग्रेस कोटामा नेपाल टेलिभिजनको अध्यक्ष नियुक्त भएका थिए । ‘म राज्यको प्रतिनिधि भएर आएको हुँ, फिर्ता हुनुपर्ने भन्ने लिखित सूचना नआएसम्म तोकिएको जिम्मेवारीमै रहनेछु,’ राजदूत दाहालले कान्तिपुरसँग फोनमा भने । उनले आफू कुनै पार्टी वा व्यक्तिविशेषको ‘निकटस्थ’ नरहेको दाबी गरे ।

बहराइनका राजदूत पदम सुन्दास पनि दाहाल खेमाका रूपमा चिनिन्छन् । उनी २०१७ को जुनमा राजदूत नियुक्त भएका थिए, उनको अब ६ महिना मात्रै कार्यकाल बाँकी छ । नेपालमा छँदा दलित मुक्ति अभियानका कारण चिनिएका ७५ वर्षीय सुन्दास आफूले कूटनीतिक जिम्मेवारीबाट फिर्ता हुनुपर्ने सूचना आएमा त्यसका लागि तयार रहेको बताए । ‘तर म कूटनीतिक हैसियतमा छु, कुनै गुट वा खेमाभन्दा पनि राज्यको प्रतिनिधित्वलाई सदैव शिरोधार्य गरेको छु,’ उनले भने ।

एमाले राजनीतिको पृष्ठभूमिबाट उठेर विगतमा सांसद, मन्त्री भइसकेका रौतहटका वंशीधर मिश्रलाई पनि तत्कालीन एमालेमा माधव नेपाल खेमाका नेता भनेर चिनिन्थ्यो । केपी ओली सरकारले २०१९ सेप्टेम्बरमा बंगलादेशका लागि राजदूत नियुक्त गरे पनि मिश्रलाई पछिल्लो समीकरणमा ‘दाहाल–नेपाल खेमा’ को भनेर ट्याग लगाइँदै आएको छ । पछिल्ला महिनामा बंगलादेशबाट समयमै रासायनिक मल ल्याउन कृषिमन्त्री धनश्याम भुसालसँगै राजदूत मिश्र पनि असफल रहेको ‘कार्यसम्पादन मूल्यांकन’ देखाएर फिर्ता गर्न प्रक्रिया सुरु गरिएको परराष्ट्र स्रोतले जनायो । ‘म कुनै राजनीतिमा संलग्न छैन, सरकारको मर्जीमा चल्ने हो,’ राजदूत मिश्रले भने, ‘फेरि म नेता माधव नेपालको कोटामा ढाका आएको होइन, बरु म परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको मान्छे हो ।’ कान्तिपुरमा खबर छ ।