काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले चार पूर्वप्रधानन्याधीशहरुलाई धम्याउने कार्य तत्काल रोक्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिएको छ । चार पूर्वन्यायाधीशहरुले संयुक्त वक्तव्य दिएकोमा प्रधानमन्त्रीले अपमानित गर्ने र धम्काउने काम गरेको भन्दै उक्त कार्य आपत्तिजनक भएको दाहाल–नेपाल समूहको बैठकले निष्कर्ष निकालेको छ ।
पेरिसिडाडामा आइतबार बसेको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहको सचिवालय बैठकले संसद विघटनको विरुद्धमा बोल्नेहरुलाई प्रधानमन्त्री ओलीले धम्क्याएको भन्दै भर्त्सना समेत गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । वैयक्तित स्वतन्त्रता र संवैधानिक अधिकारको हनन भएको भन्दै त्यसको रक्षाका लागि बैठकले अपील गरेका उनले जानकारी दिए ।
सचिवालय बैठकले प्रधानमन्त्री ओलीले केही समययता प्रदर्शन गरेको चरित्रलाई अधिनायकवादी र निरंकुश रहेको निष्कर्षसहित त्यसप्रकारको कार्य तत्काल रोख्न चेतावनी दिने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । ‘प्रधानमन्त्री केपी शर्मा ओलीले केही समययता प्रदर्शन गर्नुभएको चरित्र अधिनायकवादी र निरंकुश चरित्रको रुपमा लिँदै त्यस प्रकारको कार्य तत्काल रोख्न चेतावनी दिने निर्णय गरेको छ,’ बैठकपछि प्रवक्ता श्रेष्ठले भने ।
बैठकले ओलीले सरकारी सञ्चारमाध्यमको दुरुपयोग गरेको भन्दै तत्काल त्यो कार्य रोक्न मागसमेत गरेको प्रवक्ता श्रेष्ठले बताए । बैठकले संघर्षको कार्यक्रमलाई शसक्त बनाउने निर्णय गरेको छ । श्रेष्ठले अध्यक्ष पुष्पकमल दाहालको भारत भ्रमणमा कुनै राजनीतिक भेटघाट नभएको बताए । प्रचण्डको भारत भ्रमणको कुरा नितान्त आफ्नो परिवारलाई स्वास्थ्य उपचार गराउने सिलसिलामा भएको उनले जानकारी दिएका थिए ।





प्रतिक्रिया