देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

ओलीले प्रधानमन्त्रीबाट बाहिरिन तयार भएर बसे हुन्छ : माधव नेपाल

देशान्तर

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीले प्रधानमन्त्रीबाट बाहिरिन तयार हुनुपर्ने बताएका छन् । नेपाल बुद्धिजीवी संगठनद्वारा आयोजित प्रतिनिधिसभा विघटनः प्रतिगामी कदम विषयक अन्तरक्रिर्या कार्यक्रममा उनले भने- ‘काम चलाउ प्रधानमन्त्री मात्र अब उहाँ प्रधानमन्त्री पदबाट बाहिरिन खुट्टा उचालेर बस्दा हुन्छ । केपी ओलीको तानाशाही प्रवृत्तिबाट मुलुक पिल्सिएको उनले बताए । ‘उहाँको तानाशाही प्रवृत्तिबाट कसैले चिच्याउनु पनि पाउनु भएको छैन ।

हामी निसासिएपछि हामी बोल्न बाध्य भएका हौ । उहाँले आफ्नो पार्टीसँगै प्रतिपक्षीको पनि मान मर्दन गर्नुभएको छ ।’ पार्टीमा आफूसँग ७२ प्रतिशत रहेको भन्दै केपी ओलीले विधान विपरित केन्द्रीय संख्या थप्दै गएको नेपालले बताए । ‘केपी ओलीले सडक छाप होइन, धुलोछाप पार्टी बनाउँदै हुनुहुन्छ । त्यहाँ मदन भण्डारी फाउन्डेशन मात्र छ । त्यहाँ पार्टी छैन।’ उनले संवैधानिक ‘कू’ भएकाले चुनावको कुरा गर्न नसकिने बताए ।

उनले भने, ‘संवैधानिक ‘कू’ गरेका बेला चुनावको कुरा हुँदैन । अदालतबाट सच्याउनुपर्छ । अन्तिममा त जनअदातल छँदैछ । उहाँले बैशाखमा चुनाव गराउनका लागि घोषणा गर्नुभएको छैन ।’ अहिलेको अवस्था आउनुमा ओलीको ९९ प्रतिशत गल्ती रहेको वामदेव गौतमले नै भनेको उनले बताए । केही गल्ती आफूबाट पनि भएको उनले बताए । ‘०६२–६३ को आन्दोलनपछि मैले उहाँ जस्तो परिवर्तन विरोधीलाई उपप्रधानमन्त्री बनाएँ। यो मेरो गल्ती थियो । उहाँ जस्तो व्यक्तिका लागि पार्टी एकता हुँदा आलोपालो प्रधानमन्त्रीको सहमतिबाट प्रचण्डजी पछाडि हट्ने कुरामा मैले साथ दिएँ । यसमा पनि मबाट गल्ती भयो ।’ केपी ओलीबाट नभएको प्रचण्डबाट भएको उनले बताए ।