देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

तत्काल मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउँदैनौँ : कांग्रेस

देशान्तर

पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अविश्वासको प्रस्ताव नल्याउने भएको छ। पोखरामा बुधबार आयोजित पत्रकार सम्मेलनमा कांग्रेसले ुरमाइलो गर्नका लागिु अहिले नै अविश्वासको प्रस्ताव नल्याउने बताएको हो।

प्रदेशसभा सांसद एवम् सार्वजनिक लेखा समिति सभापति कुमार खड्काले बहुमत प्राप्त मुख्यमन्त्रीका विरुद्ध अविश्वासको प्रस्ताव नल्याउने बताए। उनले भने, ‘कांग्रेस जिम्मेवार पार्टी हो। हामीले संवैधानिक र कानुनी कुरा हेर्ने हो। कानुनी हिसाबले अहिले पृथ्वीसुब्बा गुरुङसँग बहुमत छ। बहुमत प्राप्त मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनु भनेको अस्थिरता निम्त्याउने मात्रै हो’, उनले भने, ‘उहाँको पार्टी विभाजन भएर दुईवटा पार्टी दर्ता भएपछि पृथ्वीसुब्बाको सरकार अल्पमतमा जान्छ। उहाँले आफै विश्वासको मत लिनुपर्छ। विश्वासको मत पाउन नसके पदमुक्त हुनुहुन्छ। नयाँ सरकार दिने बेलामा कांग्रेसले छलफल गर्ने हो।’

कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले नेकपा विभाजनको टुंगो नलाग्दासम्म सरकार गठनको जोडघटाउमा नलाग्ने बताए। नेकपा औपचारिक रुपमा फुटेपछि मात्रै पार्टीले के गर्ने भन्नेबारेमा निर्णय लिने उनको भनाइ छ। उनले भने, ‘नेकपाभित्र विवाद छ, सबैलाई थाहा छ। औपचारिक रुपमा फुटेको अवस्था छैन। औपचारिक विभाजन नहुँदासम्म चलखेल गर्नुको कुनै तुक छैन’, उनले भने, ‘वैधानिक रुपमा विभाजन भएपछिको परिस्थिति हेरेर कांग्रेसले निर्णय गर्छ।’ उनले नेकपा विभाजन भए कांग्रेसले सरकारको नेतृत्व गर्न सक्ने संकेत गरे।