देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेकपाको नाम नलिन ओलीलाई अध्यक्ष नेपालको चेतावनी

देशान्तर

ताप्लेजुङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीलाई पार्टीले कारवाही गरी निकालिसकेकाले पार्टीको नाम नलिने चेतावनी दिएका छन् ।

आज (मंगलबार) ताप्लेजुङमा आयोजित भेलालाई सम्वोधन गर्दै अध्यक्ष नेपालले ओली अब नेकपाको अध्यक्ष नरहेको स्पष्ट पारे । ओलीलाई नेकपाको नाम समेत नलिन चेतावनी दिँदै अध्यक्ष नेपालले भने, ‘यदि, अध्यक्ष नै बन्ने मन भए ओली गुटको अध्यक्ष लेखे हुन्छ । गुटको अध्यक्ष बन्नुहोस्, घरको अध्यक्ष बन्नुहोस् ।’

निर्वाचन आयोगको निर्णयपछि ओलीले अझै अध्यक्ष छु भने पनि पार्टीले हटाइसकेको नेपालले बताए । ‘४४१ मध्ये ३०० जना बसेर अध्यक्षबाट निकाली सकिएको छ । अब ओली नेपाल कम्युनिष्ट पार्टीको अध्यक्ष होइनन्’, उनले भने ।

निर्वाचन आयोगले ४४१ सदस्यीय कमिटीलाई मान्यता दिएको र ७० प्रतिशतले ओलीलाई हटाइसकेकाले उनी अध्यक्ष नरहेको नेपालले बताए । नेकपासँगै सूर्य चिन्ह पाउने आशा मार्न पनि नेपालले ओलीलाई आग्रह गरे ।

‘सूर्य पाउने आशा नगर्दा हुन्छ । बयलबाडा लिएर गए हुन्छ’, उनले भने । केपी ओली निर्वाचनबाट आएको तानाशाही भएको आरोप लगाए । वामदेव गौतमले ओलीलाई सुर्धाछु भन्नु बालुवा पेलेर तेल निकाल्ने कुरा भएको नेपालले टिप्पणी गरेका छन् ।

जनताको बहुदलीय जनवाद (जबज) सँग ओलीको साइनो सम्बन्ध नभएको उनले बताएका छन् । जबजका तीन विशेषता सुनाउँदै नेपालले भने, ‘उहाँको मुखबाट जनताको बहुदलीय जनवाद निस्कने कुरा पनि बेकारको कुरा हो ।’ जबज भनेको पार्टीको लोकतान्त्रिकरण, सामाजिक न्याय र प्रशासनको लोकतान्त्रिक भएको र ओलीसँग यी कुनै पनि आँचरण नभएकाले जबजसँग साइने नरहेको नेपालले बताए ।