देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पशुपतिमा दीप बाल्दैमा ओलीको पाप पखालिंदैन : भीम रावल

देशान्तर

मुगु । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले पशुपतिनाथ मन्दिरमा दीप बाल्दैमा प्रधानमन्त्री केपी शर्मा ओलीको पाप नपखालिने बताएका छन् ।
मुगुको गमगढीमा आयोजित पार्टीको विरोधसभालाई सम्वोधन गर्दै नेता रावलले संविधानमाथि लात हानेर संसद् विघटन गरेका प्रधानमन्त्री केपी शर्मा ओली पाप पखाल्न पशुपति पुगेको बताए ।

नेपाली जनता र संविधानमाथि गरेको अपराधको पाप पखाल्न पशुपतिमा पुगेर ओलीले दिप बत्ती बाल्न थालेको नेता रावलले आरोप लगाएका हुन् । ‘संसद् विघटनको चौतर्फी विरोध हुन थालेपछि आफूले गरेको असंवैधानिक कदमको पाप पखाल्न प्रधानमन्त्री पशुपति पुगेका हुन्,’ रावलले भने,’ तर पशुपतिले प्रधानमन्त्रीलाई पापको क्षमा दिने छैनन् । ’

ओलीलाई काम गर्न पार्टीबाट कुनै अवरोध नभएको, विदेशीसंग झुक्न थालेको, एमसीसी सम्झौता गर्ने, कानुन विरोधी काम गर्न थालेपछि पार्टीले उनका कार्यशैलीलाई रोक्न निर्देशन मात्र दिएको रावलको भनाई छ ।

‘कोरोना भाइरस नियन्त्रणमा प्रधानमन्त्रीको कुनै चासो देखाएन अहिले जनतालाई कोरोनाविरुद्ध खोप चाहिएको छ,’ नेता रावलले भने, ‘त्यसका लागि ५० अर्ब रकम आवश्यक परेको र त्यतातिर प्रधानमन्त्रीको ध्यान नगएर ५० अर्ब खर्च गरेर निर्वाचन गर्न खोजेका छन् ।’ प्रधामन्त्री ओलीले भ्रष्टाचार नियन्त्रणमा चासो नदिएर उल्टै भ्रष्टाचार गर्ने व्यक्तिलाई ढाकछोपमा राखेको उनले बताए ।