काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले केपी ओलीको गल्ति सच्याउन अर्को खतरनाक गल्ति नगर्न सबैमा अपिल गरेका छन् ।
सामाजिक संजालमा टिप्पणी गर्दै अध्यक्ष थापाले राजसंस्था प्रजातन्त्रको वाधक होइन भन्दै धरातलीय यथार्थ बुझेर र विगतका कमजोरी हटाएर सबै नेपाली अटाउने राजनीतिक प्रणाली निर्माण गर्ने प्रयास गर्न पनि आग्रह गरेका छन् ।
उनले राजा हटाएपछि लोकतन्त्रलाई कसैले चुनौती दिनसक्दैन भन्नेहरू अहिले लोकतन्त्रको हत्या भयो भन्दै सडक संघर्षमा उत्रिएको टिप्पणी गरेका छन् ।
उनले भनेका छन् – ‘राजा हटाएपछि लोकतन्त्रलाई कसैले चुनौती दिनसक्दैन भन्नेहरू अहिले लोकतन्त्रको हत्या भयो भन्दै सडक संघर्षमा उत्रिएका छन् । राजसंस्था प्रजातन्त्रको वाधक होइन । संविधानको परिधिभित्र राख्ने हो भने नेपालको भूराजनीतिक अवस्थामा राजसंस्था नै प्रजातन्त्र र राष्ट्रिय स्वतन्त्रताको संरक्षक हुनसक्छ ।
अहिले नेपालको राजनीति रेफ्री विनाको खेल जस्तो छ । जसको शक्ति उसको भक्ति कायम छ । एकले अर्कोलाई समाप्त पार्ने प्रतिस्पर्धा चलेको छ । मुठभेड बढदै जाँदा राजनीतिक दल र नेताहरूको नियन्त्रणबाट परिस्थिति बाहिर जान्छ । त्यो रिक्त अवस्थामा गैरराजनीतिक शक्ति र बिदेशीको हातमा देशको बागडोर जाने खतरा हुन्छ । परिस्थिति विगार्न देशीबिदेशी शक्तिहरू क्रियाशील छन् । एकले अर्कोलाई गलत प्रमाणित गर्ने होडमा कोहीपनि अन्धो र मतिभ्रम नबनौं । केपी ओलीको गल्ती सच्याउन अर्को खतरनाक गल्ती नगरौँ । यो धरातलीय यथार्थ बुझेर र विगतका कमजोरी हटाएर सबै नेपाली अटाउने राजनीतिक प्रणाली निर्माण गर्ने प्रयास गरौँ ।’





प्रतिक्रिया