देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रदेश एककाे बैठक आज, मुख्यमन्त्री राई दबावमा

देशान्तर

प्रदेश नं १ को प्रदेश सभा वैठक आज बस्दै छ । नेकपा दुई समुहमा विभाजित भएपछि प्रदेश सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको अवस्थामा बैठक बस्न लागेको हो । प्रदेशसभा बैठकमा के के हुन्छ भन्नेतर्फ चौतर्फी चासो बढेको छ ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट संसद विघटन भएपछि नेकपा दुई समुहमा विभाजित छ । यसैको असर स्वरुप नेकपाको पुष्पकमल दाहाल प्रचण्ड समुहका ३७ सांसदले मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेश एकमा पनि अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।


माघ ७ गते प्रदेशसभाको हिउँदे अधिवेशन सुरु भएको थियो । उक्त बैठक तीन मिनेट मात्र बसेर स्थगित भएको थियो ।

प्रदेश एक प्रदेशसभामा ओली समूहको नेतृत्व मुख्यमन्त्री राईले तथा प्रचण्ड समूहको नेतृत्व भीम आचार्यले गरिरहेका छन् । सभामुखले प्रदेशसभा बैठक डाकेपछि सशंकित बनेको मुख्यमन्त्री राई पक्ष कुनै हालमा अविश्वास प्रस्ताव टेबुल गराउन नदिने रणनीतिमा छ ।

नेकपाको विवादमा निर्णायक बनेको कांग्रेस भने अहिलेसम्म आफैँ अनिर्णित छ । कांग्रेसले अविश्वास प्रस्तावको पक्ष वा विपक्षमा उभिने भन्नेमा अहिलेसम्म ठोस निर्णय लिएको छैन ।
प्रदेशसभाको बैठक जसरी अघि बढ्छ, सोहीअनुसार निर्णय लिने कांग्रेसले जनाएको छ ।