
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा यतिबेला दुई समूहमा विभक्त छ ।
दुवै समूहले आफूलाई मूल पार्टी भएको दाबी गर्दै संसद् विघटनको समर्थन र विरोधमा जनपरिचालनको काम गरिरहेका छन् । ओली र प्रचण्ड–माधव समूहमा विभाजित भएको नेकपाका दुवै समूह यतिबेला एकले अर्कोलाई खुइल्याउने अभियानमा छन् ।
योसँगै दुवै समूहले नेकपाका नेता तथा कार्यकर्तालाई आआफ्नो पक्षमा तान्ने होडबाजी गरिरहेका छन् । ओली समूहले आफूमा आउने नेताहरूलाई धमाधम पद बाँडिरहेको छ । तर प्रचण्ड–माधव समूहले भने अहिलेसम्म पनि महासचिवको चयन गर्न सकेको छैन ।
नेकपाको प्रचण्ड–माधव समूहमा महासचिव चयन गर्ने विषयलाई लिएर किचलो सुरु भएको छ । यही किचलोका बीच पार्टी नेतृत्वले नेता सुरेन्द्र पाण्डेलाई महासचिवले गर्ने कामको जिम्मेवारी दिएको छ । तर पाण्डेलाई महासचिवको दर्जा भने दिन सकेको छैन ।

एउटा महासचिवको पदमा आधार दर्जन जति आकांक्षीहरू प्रकट भएपछि प्रचण्ड–माधवलाई महासचिव तोक्न सकस भएको स्रोतले बतायो । आधा दर्जन आकांक्षीसँगै सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले महासचिवमा दाबी गरेपछि प्रचण्ड–माधवलाई महासचिव छान्न झन् कठिन भएको बताइएको छ ।
सुरेन्द्र पाण्डेलाई महासचिव बनाउनुपर्ने जोडबल वरिष्ठ नेता झलनाथ खनालको रहँदै आएको छ । प्रचण्ड र माधव दुईजना अध्यक्ष भएपछि महासचिवको पद आफू निकटले पाउनुपर्ने भन्दै खनालले पाण्डेको नाम अघि सार्दै आएका हुन् ।
तर पूर्वमाओवादी खेमाले महासचिवमा पूर्वमाओवादीमध्येबाट एकलाई बनाउनुपर्ने दबाब प्रचण्डलाई दिएपछि उनी निर्णयमा पुग्न सकेनन् । उता पुन र शर्माको आकांक्षा चाल पाएपछि पूर्वएमाले खेमाका भीम रावल र घनश्याम भुसालले पनि उक्त पदमा दाबी गर्दै आएका छन् । यस्तो अवस्थामा जसलाई बनाए पनि विवाद उत्पन्न हुने भएपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले आफूलाई महासचिव बनाए विवाद नहुने तर्क पेस गर्दै उक्त पदमा आफ्नो दाबी पेस गरेका हुन् ।
श्रेष्ठले प्रचण्ड र नेपाल दुवैसँग भेटेर नै आफूलाई महासचिव चाहियो भनिसकेका छन् । उनको मागमा प्रचण्ड र माधव दुवैले समर्थन र विरोध दुवै गर्न नसकेको स्रोतले बतायो ।
अलग्गै पार्टीको अभ्यास गरिरहेको प्रचण्ड–नेपाल समूहका लागि पार्टी कार्यालय सञ्चालन, माइन्युटिङ तथा बैठक आह्वानजस्ता कामको जिम्मेवारी पाएको महासचिव नहुँदा दुवै अध्यक्षहरूले अप्ठेरो महसुस गरिरहेका छन् ।

यही अप्ठेरो फुकाउने सन्दर्भमा अहिले सुरेन्द्र पाण्डेले महासचिवको काम गरिरहेका छन् । तर महासचिव बन्न नदिन पार्टीबाट दबाब सिर्जना भएपछि प्रचण्ड–माधव विलखबन्दमा परेको स्रोतले बतायो । वरिष्ठ नेता खनाल भने कुनै पनि हालतमा पाण्डे नै महासचिव बन्नुपर्ने अडानमा छन् ।
पुस ९ गते बसेको नेकपा प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठकको मूल एजेन्डा नै महासचिव चयन गर्नु थियो । तर बैठकअघि कुरा मिल्न सकेपछि त्यो एजेन्डालाई कार्यसूचीबाटै हटाइएर अहिलेसम्म महासचिव छानिएको छैन ।





प्रतिक्रिया