प्रधानमन्त्री केपी शर्मा ओली झुटको पुलिन्दा सावित भएका छन् । उनले सुरुदेखि नै आफ्नो भाषणमा झुटो तथ्यहरू प्रस्तुत गरेर जनताको आँखामा छारो हाल्दै आएका छन् । यो क्रम असंवैधानिक रूपमा प्रतिनिधिसभा विघटन गरेपछि झनै बढेको छ ।
उनले विभिन्न ठाउँमा भएका सभाहरूमा जनताको मन जित्न झुटको सहारा लिइरहेका छन् । आफ्नो पालामा विकास निर्माणले तीव्रता पाएको भ्रम छर्न उनी यतिबेला यसअघि नै उद्घाटन भइसकेका, निर्माण सम्पन्न नभएका, काम हुँदै गरेका आयोजनाहरूको पुनः उद्घाटन, उद्घाटन र शिलान्यास गर्न व्यस्त छन् । त्यसैगरी हरेकजसो भाषणमा उनी झुटो तथ्य विवरण प्रस्तुत गरिरहेका छन् । यो क्रम शुक्रबारको सभामा पनि जारी रह्यो ।
ओलीले शुक्रबार राजधानीको दरबारमार्गमा बनाइएको मञ्चमा उभिएर सीधासीधा झुट बोलेको पुष्टि भएको छ ।
प्रतिनिधिसभाको विघटन गरेर आम निर्वाचनको घोषणा गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले केही समययता विभिन्न आमसभा र भेलाहरूलाई सम्बोधन गरेका छन् । ती भाषणहरूमा उनले आफ्नो सरकारले चालेका कदमको बचाउ गर्नुका साथै आफ्नो तीनवर्षे कार्यकाल र त्यसअघि आफू पहिलो पटक प्रधानमन्त्री हुँदा विभिन्न उपलब्धि भएको भनी दाबी गरेका छन् ।

ओलीले बोलेको झुटलाई साउथ एसिया चेकले सप्रमाण सार्वजनिक गरिदिएको छ । माघ २३ गते काठमाडौंको दरबारमार्गमा एक सभालाई सम्बोधन गर्दै उनले भनेका थिए, ‘(मेरो बारेमा) विभिन्न प्रकारका भ्रम फिँजाएका छन्, यहाँ ।’ तर साउथ एसिया चेकले उनका पछिल्ला भाषणको तथ्य जाँच गर्दा भ्रामक र गलतसिद्ध भइसकेका दाबीसमेत उनले आफ्नो भाषणमा दोहो¥याएको पाइएको छ ।
झुट- १
ओलीले शुक्रबारको सभामा भने ‘आज मैले सबस्टेसनको उद्घाटन गर्दै भनेको थिएँ, १ सय ११ वर्षअघि फर्पिङबाट चन्द्रज्योतिका नाममा (चन्द्रशमशेरको समय भएकाले) फर्पिङबाट निकालियो, १९६६ सालमा । ६ वर्षअघिसम्म नेपालमा ३०० मेगावाट पनि निस्केको थिएन ।
साउथ एसियाको सबैभन्दा पहिले बिजुली निकाल्ने नेपाल, १ सय ५ वर्षमा ३ मेगावाट निकाल्दो हो वर्षमा । मैले प्रधानमन्त्री भएको एक हप्तामा घोषणा गरेँ (जबकि १८ घन्टा दिनको लोडसेडिङ हुन्थ्यो) दसैँको कार्यक्रममा मैले घोषणा ग¥या हो, यो वर्षको तिहारमा लोडसेडिङ हटाउन सकिँदैन (तर) अर्को तिहार अँध्यारो तिहार मान्नुपर्ने छैन । र, अर्को तिहारका लागि त्यस्तो गर्न नपरोस् भनेर भारतबाट बिजुली किन्नेदेखि लिएर (भारतीय प्रधानमन्त्री नरेन्द्र) मोदीजी र मैले मुजफ्फरपुर–ढल्केबरको सब स्टेसन ट्रान्समिसन लाइन निर्माणको उद्घाटन गरेको ।’
ओलीले यो भनाइ माघ १९ गते काठमाडौंमा भएको प्रोग्रेसिभ इन्जिनियरिङ एसोसिएसन नेपालको भेलामा राखेका थिए । उक्त भेलालाई सम्बोधन गर्नुअघि उनले नेपालको सबैभन्दा बढी क्षमताको ढल्केबर सबस्टेसनको उद्घाटन गरेका थिए । ओलीले माथिको भनाइमा गरेका केही दाबी सही भए पनि दुईवटा दाबी गलत ठहरिएका छन् ।
तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेर राणाको पालामा तत्कालीन राजा पृथ्वीवीर विक्रम शाहले उद्घाटन गरेको फर्पिङस्थित ५०० किलोवाट क्षमताको जलविद्युत् आयोजना नेपालको पहिलो हो तर दक्षिण एसियाको पहिलो चाहिँ होइन । भारतको अंग्रेजी दैनिक टाइम्स अफ इन्डियाका अनुसार दार्जिलिङमा सन् १८९७ मै १३० किलोवाटको जलविद्युत् आयोजना बनिसकेको थियो । त्यसैगरी दक्षिण भारतको कर्नाटक राज्यको काभेरी नदीमा ४.५ मेगावाटको जलविद्युत् आयोजना सन् १९०२ मै सञ्चालनमा आइसकेको थियो । यसर्थ नेपालको चन्द्रज्योति जलविद्युत्लाई दक्षिण एसियाकै पहिलो आयोजना भन्नु गलत ठहर्छ ।
माथिकै भनाइमा आएको ओलीको अर्को दाबी पनि गलत छ । उनले आफू पहिलोपटक प्रधानमन्त्री हुनुभन्दा अर्थात् २०७२ सालभन्दा अघि नेपालमा ३०० मेगावाट पनि बिजुली उत्पादन नभएको दाबी गरेका छन् । तर, नेपाल विद्युत् प्राधिकरणले प्रकाशित गरेको सन् २०१५÷१६ को वार्षिक प्रतिवेदनअनुसार त्यतिबेला नेपालको जडित जलविद्युत् क्षमता ४६९.२९ मेगावाट थियो । यसकारण ओलीको आफू पहिलोपटक प्रधानमन्त्री हुँदा नेपालको जलविद्युत् क्षमता ३०० मेगावाट मात्र थियो भन्ने दाबी गलत हो ।
झुट- २
ओलीले भने ‘तपाईंहरूलाई यहाँ उपस्थित हुन नदिनका लागि हिजो तथाकथित नेपाल बन्द गरियो । नेपाल बन्द गर्दा के गरियो ? गरिबका लागि काम गर्ने भन्ने तर श्रमजीवीका लागि काम गर्ने हैन, बूढीआमाले टमाटर, साग किनेर डोकामा बोकेर ल्याएर बाटाका छेउमा बेच्न राखेको बाटाभरि छरेर क्रान्ति गर्न खोजियो ।’
प्रधानमन्त्री ओलीले माघ २३ गते काठमाडौंको दरबारमार्गमा उनको दलले आयोजना गरेको सभालाई सम्बोधन गर्ने क्रममा यसो भनेका हुन् । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड–माधव समूहका बन्दकर्ताले माघ २२ गते गरेको भन्दै सामाजिक सञ्जालमा भाइरल बनाइएका तरकारी सडकमा छरिएको तस्बिरलाई ओलीले इंगित गरेका हुन् ।
तथ्य जाँच गर्ने फ्याक्ट चेक नेपालले यसअघि नै ती तस्बिर भारतको महाराष्ट्रको किसान आन्दोलनको र नेपालमै तीन वर्षअघिको घटनाको भएको फेला पारेको छ । यसरी तथ्य जाँचकीले गलत भनी सिद्ध गरिसकेको तस्बिरलाई समेत प्रधानमन्त्री ओलीले पटक–पटक भाषणमा उल्लेख गरेर भ्रम फैलाएका छन् ।
झुट-३
‘बेलायतमा लिखित संविधान छैन । अथवा प्रधानमन्त्रीले त्यहाँ संसद् विघटन गर्ने लेख्या छैन । लेखेकै छैन कतै प्रकारान्तरले पनि । तर प्रधानमन्त्रीले अस्ति भर्खर संसद् विघटन गरेर चुनाव गराउनुभयो ।’
प्रधानमन्त्री ओलीले आफूले गरेको संसद्को विघटनको बचाउ गर्ने क्रममा दरबारमार्गको सभामा यो प्रसंग कोट्याएका हुन् । उनले उल्लेख गरेको बेलायतमा लिखित संविधान नभएको साँचो हो । तर बेलायती प्रधानमन्त्रीले संसद् विघटन गर्ने त्यहाँको कानुनमा नलेखेको भन्ने दाबी गलत हो । बेलायतको फिक्स्ड टर्म पार्लियामेन्ट एक्टले केही सर्त पूरा गरेमा प्रधानमन्त्रीलाई संसद् विघटन गर्न सक्ने अधिकार दिएको छ ।
लिखित संविधान नै नभएको बेलायतमा लेखिने कुरै भएन तर संसद् विघटनबारे व्यवस्था गरिएको छुट्टै र लिखित कानुन नै छ जसमा म्याग्ना कार्टा, बिल अफ राइट्स, पार्लियामेन्ट एक्टलगायतका कानुनमार्फत त्यो कमी पूरा गरिने बीबीसीको रिपोर्टमा जनाइएको छ ।
द कन्भर्सेसनमा प्रकाशित एक्सप्लेनर अनुसार पहिले बेलायती प्रधानमन्त्रीले राजा वा रानीसमक्ष संविधान विघटन गर्न अनुरोध वा सिफारिस गर्नुपथ्र्याे । तर प्रधानमन्त्रीले आफूले चाहेको जुनसुकै बेला संसद् विघटन गर्न नसकून् भनेर सन् २०११ मा संसद्को निश्चित पदावधि पाँच वर्षलाई कायम राख्दै फिक्स्ड टर्म पार्लियामेन्ट एक्ट नामको ऐन ल्याइयो । यस ऐनमा दुई वटा अवस्थामा मात्र संसद् विघटित हुन सक्ने उल्लेख छ :
१) संसद् विघटन गरेर चुनावमा जान संसद्का ६५० मध्ये ४३४ सांसद (अर्थात् दुई तिहाइ) को सहमति आवश्यक पर्ने वा
२) संसद्मा प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव पारित भएर १४ दिनसम्म पनि नयाँ सरकार नबनेमा ।
बेलायतमा पछिल्लो पटक सन् २०१९ मा संसद्को पदावधि नसकिँदै विघटन भएर सोही सालको डिसेम्बरमा चुनाव भएको थियो । ओलीले उल्लेख गरेको बेलायती संसद् विघटन र चुनाव प्रधानमन्त्री बोरिस जोन्सनले डिसेम्बर, २०१९ मा गराएका हुन् र त्यो माथिका मध्ये पहिलो विकल्पअन्तर्गत भएको थियो ।
झुट- ४
ओलीले भने ‘नेपालमा कोभिडको मृत्युदर कम छ । उपचार राम्रो छ । कुन अवस्थामा थियो देश ? एउटा उपचार हुँदैनथ्यो । आज १ दिनमा ८२ ठाउँबाट एकैचोटी कोभिडको स्वाब टेस्ट हुन्छ । ३०० भन्दा बढी ठाउँबाट आज हामी भ्याक्सिन दिइरहेका छौं ।’
ओलीले आफ्नो सरकारले चालेका कदमका कारण कोभिड–१९ बाट निधन हुनेको संख्या घटेको दाबी गर्दै यो भनाइ राखेका हुन् । दैनिक ८२ वटा प्रयोगशालामा कोभिड–१९ को परीक्षण हुने गरेको दाबी सही भए पनि खोप केन्द्र बारेको उनको तथ्यांक गलत छ । स्वास्थ्य मन्त्रालयका अनुसार गत माघ १९ गते ७७ जिल्लाका १९१ वटा बुथहरूबाट उक्त खोप दिइएको थियो । त्यस्तै पछिल्ला दिनमा त्यो संख्या २०१ पुगेको छ । त्यसैले ३०० वटा बुथबाट देशभरि कोभिड-१९ विरुद्धको खोप लगाइँदैछ भन्ने प्रधानमन्त्री ओलीको दाबी गलत छ ।





प्रतिक्रिया