काठमाडौँ – नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पूर्वसहकर्मी बाबुराम भट्टराई र आफू एउटै मोर्चामा रहेको बताएका छन् । पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष भट्टराईको पुस्तक विमोचन गर्ने क्रममा दाहालले आफूहरूको विगतको कामले अलग हुन नसक्ने पनि बताए । भट्टराईको पुस्तक ‘गुमनाम आमाहरूको कथा’को शनिबार विमोचनपछि दाहालले भने, ‘अहिले बाबुरामजी र म एउटै पार्टीमा त छैनौं तर फेरि मुद्दाको हिसाबले एउटै मोर्चामा छौं ।’
दाहालले विगतको गम्भीर आत्मसमीक्षा गर्नुपर्ने बेला आएको पनि बताए । उनले भट्टराईलाई भने, ‘सबै घटनाले हामीलाई फेरि एकचोटी गम्भीर आत्मसमीक्षा गर्नुपर्ने देखाएको छ । देशको अवस्थाबारेमा गम्भीर विमर्श गरेर अग्रगमनका लागि फेरि एकपल्ट मोर्चा कसेर अगाडि बढ्नुपर्ने आवश्यकता महसुस गरेको छु ।’ त्यस्तो महसुस अरुलाई पनि भएको दाहालको भनाइ थियो । उनले थपे, ‘यो कार्यक्रमलाई सकारात्मक परिवर्तनको लागि मोर्चा कसेर अगाडि बढ्ने संकल्प गर्ने रूपमा ठानेको छु ।’
माओवादी सशस्त्र संघर्षका बेलादेखि नै आफूहरू सँगै रहेको भन्दै आफूहरू अलग हुन नसक्ने पनि दाहालको भनाइ थियो । विगतका कामले गर्दा जति अलग्गै पार्टीमा गए पनि आफूहरू नजिक भइरहने अवस्था रहने उनको भनाइ थियो । ‘इतिहासको आफ्नो कर्मको कारणले हामी अलग हुन खोज्दा पनि चुम्बकले तानेजस्तो आफ्ना कर्मले हामीलाई जुटाइ नै राखेको छ ।
हामीलाई अलग हुन दिँदैनन्, ती हजारौं सहिद, बेपत्ता, घाइते, अपांगहरूले अलग हुन दिन्नन् । त्यतिबेलाका हाम्रा उद्दात्त विचारहरू, मानवीय संवेदनाका अनुभूतिको तीव्रताका सबै दृष्टिकोणले उच्चता छोएका ती दिनहरूले हामीलाई फेरि पनि एकै ठाउँमा आउन प्रेरित गरिरहेका छन् ।’





प्रतिक्रिया