काठमाडौं – तोकिएको समयभित्र नेपाली कांग्रेसका ४५ जिल्ला समितिले मात्रै क्रियाशील सदस्यताको सूची केन्द्रीय कार्यालयमा बुझाएका छन्। गत पुस १९ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले सबै प्रक्रिया पूरा गरी माघ मसान्तभित्र क्रियाशील सदस्यको सूची बुझाउन जिल्ला समितिहरुलाई निर्देशन दिएको थियो। तर, केन्द्रीय समितिले तोकेको समयभित्र ४५ जिल्लाले मात्रै सूची बुझाएको केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले जानकारी दिए।
‘हालसम्म ४५ जिल्लाको सूची प्राप्त भएको छ। अन्य जिल्लाबाट आउने क्रम जारी नै छ,’ उनले भने, ‘हामीलाई प्राप्त जानकारी अनुसार थप २६ जिल्लाले सूची बुझाउने अन्तिम तयारी गरेका छन्।’ सबै जिल्लाले सफ्टवेयरमार्फत क्रियाशील सदस्यताको सूची बुझाउन सक्ने व्यवस्था कांग्रेसले मिलाएको छ। सोही कारण सूची आइपुग्न केही समय ढिलाइ भएको केसीको भनाइ छ।
‘जिल्लाले सिस्टममै टाइप गरेर विवरण भर्ने हो। यसले पनि केही ढिलाइ भएको हो,’ उनले भने, ‘तर, जिल्लाबाटै टाइप गरेर सूची प्राप्त भएपछि यहाँ टाइप गराउने झन्झट हुँदैन। १० लाख क्रियाशील सदस्यताको विवरण टाइप गर्दा तीन महिना लाग्थ्यो। त्यो समय बचत हुन्छ।’ केही जिल्लामा समायोजनको विवाद रहेकाले सबै जिल्लाको क्रियाशील सदस्यता सूची आउन अझै ढिला हुने देखिएको छ। बारा, सिन्धुपाल्चोक र सप्तरीमा भौगोलिक समायोजन हुन सकेको छैन भने अन्य पार्टीबाट आएकाहरुको समायोजनमा समेत पार्टीभित्र सहमति जुट्न सकेको छैन।





प्रतिक्रिया