काठमाडौँ । नेकपा (दाहाल-नेपाल समूह) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पशुपतिनाथलाई राजनीतिक स्वार्थको लागि उपयोग गरिएको बताएका छन् । आइतबार पार्टी केन्द्रीय संघर्ष समितिको चौथो चरणको आन्दोलन घोषणा कार्यक्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रवक्ता श्रेष्ठले आफ्ना नेताहरूको प्रस्तुतीलाई गलत ढंगले तोडमोड गरेर धर्म र पशुपतिनाथलाई संकिर्ण राजनीतिक स्वार्थको निम्ति उपयोग गरिएको बताएका हुन् ।
पशुपतिनाथ विश्वभरीका हिन्दुहरूको आराध्यदेव र आस्थाको केन्द्र भएकाले आफुहरूले सम्मान गर्ने उनको भनाइ छ । यस्तो संवेदनशील पक्षलाई निकृष्ट, तुच्छ स्वार्थको निम्ति दुरुपयोग नगर्न पनि उनले आग्रह गरे ।
उनले भने, ‘हाम्रो संविधानले नेपाललाई धर्म निरपेक्ष राज्य भनेको छ, त्यसको अर्थ राज्य धर्मबाट अलग हुने भनेको हो । तर नेपाली जनताको धार्मिक आस्थाको, धार्मिक स्वतन्त्रताको हामि उच्च सम्मान गर्दछौँ र त्यसका निम्ति हामिले संघर्ष पनि गरेका हौँ ।’ उनले हरेक व्यक्तिले धर्म मान्न पाउने छुट रहेको बताए ।
प्रवक्ता श्रेष्ठले आफुहरू सडक संघर्षमा मात्रै नभइ कानुनी मोर्चामा पनि संघर्ष गरिरहेको बताए । सरकारले निर्वाचन गराउनको निम्ति निर्वाचनको मिति घोषणा गरेको होइन भन्ने कुरामा स्पष्ट हुन जरुरी रहेको उनको भनाइ छ । संघर्ष सफल बनाएर प्रतिनिधि सभा पुनर्स्थापना गर्नेपनि उनको दाबी छ ।





प्रतिक्रिया