काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले जनता र राजाको सहमतिमा नेपाल खडा भएको बताउदै मुलुकको अस्तित्व रक्षा पनि सहमतिमै हुनुपर्ने बताएका छन् ।
७१औँ प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा बिहीबार एक विज्ञप्ति जारी गर्दै दिएको शुभकामना सन्देशमा पूर्वराजा ज्ञानेन्द्रले निषेध र विभेदको राजनीतिले मुलुक दिन प्रतिदिन जटिलतातर्फ फस्दै गएको बताएका छन् ।
उनले भनेका छन्, ‘नेपाल जनता र राजाको सहमतिबाट खडा भएको र त्यसको औचित्य रक्षा पनि सहमतिबाट मात्रै हुने यथार्थको अवज्ञाले निशेष र विभेदको राजनीति सुरु गरिएकोमा मुलुक दिनप्रतिदिन जटिलतामा फस्दै गएको महसुस आमनेपालीले गरिरहेका छन् । ’
उनले प्रजातन्त्र भनेको आवधिक निर्वाचन र दल विशेषको नेताहरुको शासन प्रणाली मात्र होइन भन्दै यो सामाजिक जीवन पद्दति समेत भएको बताएका छन् ।
उनले हरेक नागरिकले प्राप्त गर्ने सन्तुलित खुशीमा नै प्रजातन्त्रको प्राण अटुट हुने टिप्पणी गर्दै सबैले मातृभूमिको पवित्र माटो छातीमा राखेर आत्मसमीक्षा गर्नुपर्ने वेला आएकोसमेत सन्देशमा उल्लेख गरेका छन् ।
प्रजातन्त्र प्राप्तिको ७० वर्षपछि अहिले पनि प्रजातन्त्रकै विषयमा विवाद, द्वन्द्व र बहस भइरहेकोमा पूर्व राजा ज्ञानेन्द्रले असन्तुष्टि व्यक्त गरेका छन् ।
उनले जनताको आस्था, चाहना र जनभावना अन्ततः अमर रहन्छ र यसलाई मेट्न खोजेर, बटारेर त्यो मेटिँदैन बटारिन्न भन्दै अहिलेको राजनीतिक घटनाक्रम प्रति असन्तुष्टि व्यक्त गरेका छन् ।






प्रतिक्रिया