काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड-नेपाल पक्षकाका अध्यक्ष माधवकुमार नेपालले बालुवा पेलेर तेल निस्किनु र केपी ओली सुध्रिनु एउटै भएको बताएका छन् ।
काठमाडौंमा शनिबार आयोजित नेकपा प्रचण्ड–नेपाल पक्षका शिक्षकहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले बालुवा पेलेर तेल निस्किनु र केपी ओली सुध्रिनु एउटै भएको टिप्पणी गरेका हुन् ।
अध्यक्ष नेपालले अब ओलीसँग एकताको कुनै सम्भावना पनि नभएको स्पष्ट गरेका छन् । उनले आगामी दिनमा ओली प्रवृतिविरुद्ध आन्दोलन गरेकाहरुसँग सहकार्य गरेर अगाडी बढ्ने बताए । उनले अहिले प्रतिनिधि सभा पुन:स्थापना भएपनि पुरै लडाई भने जित्न बाँकी रहेको बताए । उनले भने, ‘एउटा लडाई जित्यौं, सिङ्गो लडाई जित्न बाँकी छ । एउटा लडाई जितेका छौं अर्को लडाई केपी ओलीलाई प्रधानमन्त्री पदबाट नहटाएसम्म लडाई गर्नुछ ।’
वामदेव गौतमको बारेमा टिप्पणी गर्दै अध्यक्ष नेपालले गौतम अहिले पनि केपी ओलीलाई सुधार्ने कोसिस गरिरहेको बताए ।
कुनैबेला स्थायी कमिटी बैठकमा ४० मिनेट बोलेर ओलीको राजीनामा सबैभन्दा पहिला गौतमले नै मागेको स्मरण गर्दै नेपालले अहिले फेरी ओलीलाई सुधार्न गौतमले नै कोसिस गरिरहेको बताए । आफुले बालुवा पेलेर तेल निस्किदैन तरपनि कोसिस गर्नुस् भनेर सल्लाह दिएको नेता नेपालले भने ।





प्रतिक्रिया