काठमाडौं । प्रचण्ड-नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदीय दलको नेता र पार्टीको साधारण सदस्यबाट निष्काशन गरेको संसद सचिवालयलाई जनाकारी गराएको छ ।
बिहीबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पत्रसहित संसद सचिवालय पुगेर नेकपा प्रचण्ड-नेपाल समूहका संसदीय दलका प्मुख सचेतक देवप्रसाद गुरुङ, सांसदहरु सुरेन्द्र पाण्डे, पम्फा भुसाल, दीनानाथ शर्मा, जीवनराम श्रेष्ठले काम कारबाहीलाई मान्यता नदिन आग्रह गरेका हुन् ।
‘पार्टीको अन्तरिम विधान र संसदीय दलको विधान अनुसार ओलीलाई कारबाही गरिसकेका कारण उनका कुनै पनि काम कारबाहीलाई मान्यता नदिन आग्रह गर्यौं’, सांसद श्रेष्ठले भने । त्यस्तै नेकपाको बुधबार बसेको केन्द्रीय समिति बैठकले संसदीय दलका उपनेता सुवावा नेम्वाङ, सचेतक शान्ता चौधरी लगायतलाई गरिएको कारबाही बारे पनि संसद सचिवालयलाई जानकारी गराएको उनले बताए ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय संसद सचिवालयका महासचिवलाई लेखेको पत्रमा १९ माघमा बसेको केन्द्रीय कमिटीको बहुमत सदस्यको बैठकले ओलीलाई पार्टीको साधारण सदस्यबाट निश्कासन गरेको उल्लेख गरेका छन् । ‘उहाँ पार्टी सदस्य नै नरहनु भएको संसदीय दलको नेताका रुपमा रहन नसक्ने पार्टी संसदीय दल र सम्बन्धित सबैको ध्यान आकर्षित गराउन चाहन्छु’ पत्रमा भनिएको छ ।
उनले पार्टीका कुनै सदस्यलाई निश्कासनको कारबाही बोर्डको सिफारिसमा केन्द्रीय कमिटीले गर्नसक्ने संसदीय दलको विधानसमेत स्मरण गराएका छन् । पार्टी केन्द्रीय कमिटीमा आफूहरुको बहुमत रहेको भन्दै प्रचण्डले भनेका छन्, ‘केन्द्रीय कमिटीको बैठकले सदस्यताबाट समेत निश्कासित व्यक्तिले गरेको कुनै पनि निर्देशन र निर्णय बैध नठहरिने वस्तुतथ्य सम्बन्धित सबैलाई जानकारी गराउने फागुन १९ गते बसेको केन्द्रीय कमिटीले निर्णय गरेको छ ।’
उनले संसदीय दलको नेताका नाममा प्रधानमन्त्री ओली वा अरु कसैले गरेका वा गर्ने पत्राचार वा कुनै पनि काम कारबाही अनधिकृत भई मान्य नहुने बताएका छन् ।







प्रतिक्रिया