देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

महिला सशक्तिकरण गर्ने सरकारको अभियानमा एक हौं : प्रधानमन्त्री

देशान्तर

प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मानपूर्वक व्यवहार गर्ने संस्कृतिको विकास गरी महिलाविरुद्ध हुने हिंसा अन्त्य गर्न तथा महिला सशक्तीकरण गर्ने सरकारको अभियानमा सबै एक भएर लाग्न आग्रह गरेका छन् ।

१११ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा प्रधानमन्त्रीले शुभकामना व्यक्त गर्दै सम्पुर्ण नेपालीलाई आग्रह गरेका हुन् ।

प्रधानमन्त्रीले नेपालको राजनीतिक, आर्थिक, सामाजिक रुपान्तरणमा महिलाहरुको सहभागिता र नेतृत्व विश्वकै लागि अनुकरणीय रहँदै आएको बताए । ऐतिहासिक जनआन्दोलन लगायतका परिवर्तनका सबै आन्दोलनहरुमा नेपाली महिलाहरुले अग्रमोर्चामा रहेर नेतृत्व गरेको तथ्य नेपाली राजनीतिक इतिहासमा स्वर्णअक्षरले लेखिएको बताए ।

‘लैङ्गिक रुपमा हुने हिंसाको अन्त्य र सामाजिक न्याय तथा सम्मानपूर्ण जीवनयापनको अधिकार सुनिश्चित गर्दै हामी देशलाई समृद्ध र जनतालाई सुखी बनाउने अभियान अघि बढाइरहेका छौ,’ प्रधानमन्त्रीले भने ‘राष्ट्रको यस साझा अभियानलाई सफल बनाउन रचनात्मक ढंगले सक्रिय हुन सम्पूर्ण तह र क्षेत्रका दिदीबहिनी तथा दाजुभाइहरुमा म हार्दिक अपिल गर्दछु ।’

देशको विकासका लागि जनसंख्याको आधाभन्दा बढी भाग ओगट्ने महिला दिदीबहिनीहरुको समान सहभागिता अत्यन्त जरुरी रहेको प्रधानमन्त्रीले औँल्याएका छन् ।

नेपालको लैङ्गिक विकास सूचकाङ्कमा भएको सुधारबाट पनि यस क्षेत्रमा नेपाल सरकारले गरेको लगानी र थालेको प्रयासले राम्रो प्रतिफल दिएको प्रधानमन्त्रीको भनाई छ ।

नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरण तथा महिला अधिकार स्थापित गर्न संघर्षको दिनका रुपमा आज ८ मार्चलाई विश्वभर अन्तर्राष्ट्रिय महिला दिवसको रुपमा मनाउने गरिएको छ ।