काठमाडौंं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले राष्ट्रिय कार्यकर्ता भेलाका लागि इञ्चार्ज तोकेको छ ।
पूर्व प्रधानमन्त्रीद्वय खनाल–नेपाल निकट केन्द्रीय सदस्यहरूको शनिबार बसेको बैठकले भीम आचार्यलाई प्रदेश–१, घनश्याम भुसाललाई प्रदेश–२, अष्टलक्ष्मी शाक्यलाई बागमती, सुरेन्द्र पाण्डेलाई गण्डकी, युवराज ज्ञवालीलाई लुम्बिनी र कर्णाली र भीम रावललाई सुदूरपश्चिम प्रदेश इञ्चार्जको जिम्मेवारी दिएको हो ।
नेपाल–खनाल समूहले आउँदो चैत ४ र ५ गते काठमाडौंमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने निर्णय गरेको छ । यस्तै रघुजी पन्तले युवा, गोकर्ण विष्टले विद्यार्थी, प्रमेश हमालले बुद्धिजीवी र योगेश भट्टराईले प्रचार विभाग प्रमुखको जिम्मेवारी पाएका छन् । यो स्थायी इञ्चार्जको जिम्मेवारी भने नभएको एमालेका एक नेताले जानकारी दिएका छन् । आजको बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेका एकलौटी निर्णयहरू अस्वीकार गर्ने निर्णय गरेको छ ।
भेलामा केन्द्रीय कमिटी र केन्द्रीय निकायका सबै सदस्य, संघ र प्रदेशका सांसद, प्रदेश कमिटीका पदाधिकारी र सदस्य, जिल्ला कमिटी पदाधिकारी, पालिकाका प्रमुख, उपप्रमुख तथा पार्टी पदाधिकारी लगायतलाई बोलाइएको नेता भीम रावलले जानकारी दिएका छन् ।
प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू पक्षका पदाधिकारीहरु हटाएर माओवादी केन्द्रबाट सरकारमा रहेकाहरुलगायत २३ जनालाई केन्द्रीय सदस्य मनोनयन गरेपछि नेपाल–खनाल पक्ष आक्रोशित बनेको छ । ओलीको ‘एक्सन’ मा ‘रियाक्सन’ दिंदै नेपाल–खनाल समूहले आजै समानन्तर कमिटीहरु समेत गठन गरेको छ । नेपाल–खनाल समूहले सात वटै प्रदेशमा प्रमुख नियुक्त गरेको छ ।





प्रतिक्रिया