देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

संसद बैठक बस्दै, दोस्रो तहका नेताले सम्बोधन गर्ने सम्भावना

देशान्तर

प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो एक बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट दुईवटा वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची छ ।

लोक सेवा आयोगको ६१ औँ प्रतिवेदन र राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने संभावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

यस्तै सभामुख अग्निप्रसाद सापकोटाले पूर्व सांसद अशोक कोइरालाको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । कोइरालाको बिहीबार निधन भएको हो ।

सर्वोच्च अदालतको फैसलासँगै प्रतिनिधिसभा पुनःस्थापनापछि अहिलेसम्म तीन वटा बैठक बसेको भए पनि तीनवटै बैठक उपलब्धिविहीन बनिरहेको छ । राजनीतिक दलहरुबीच पछिल्लो समय विवाद बढ्दै जाँदा संसद बैठक प्रभावित हुँदै आएको छ ।

आजको बैठकमा राजनीतिक दलका दोस्रो तहका नेताले मन्तव्य राख्ने कार्यक्रम तय गरिएको छ । विगतमा बैठक सुरु भएकै दिन मन्तव्य राख्ने चलन थियो ।

चालु अधिवेशनमा भने तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रमा विभाजित भएको, प्रतिनिधिसभा विघटनलाई सर्वोर्च्चले बदर गरेको र एमालेभित्रै द्वन्द्व सिर्जना भएकाले परम्परा तोडिएको हो ।

एमाले सांसद विशाल भट्टराईले बैठकमा आफ्नो पार्टीका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मन्तव्य राख्ने जानकारी दिए ।

सभामुखको सचिवालयले दलले सिफारिस गरेका नेताहरूले बोल्ने कार्यक्रम तय भएको जनाएको छ ।

प्रधानमन्त्रीले विघटन गरेको प्रतिनिधिसभा सर्वोच्चले ब्युँत्याएपछि फागुन २३ मा बसेको पहिलो बैठकमा सत्तापक्षको असन्तुष्ट पक्ष र प्रतिपक्षको विरोधका कारण असहज अवस्था सिर्जना भएको थियो । त्यसपछिका बैठक शोक प्रस्ताव पारित गरेर स्थगित गरिँदै आएको छ ।

प्रमुख प्रतिपक्ष कांग्रेसका सांसदले प्रतिनिधिसभामा सार्वजनिक महत्वका, संकल्प र ध्यानाकर्षणका तीनवटा प्रस्ताव दर्ता गराएका छन् ।