काठमाडाैं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्ताभन्दा ब्यवस्था जोगाउनु महत्वपूर्ण हुने बताएका छन् । गिरिजाप्रसाद कोइरालाको ११ औं स्मृति दिवसका अवसरमा नेपाल ट्रेड युनियन कांग्रेसले गरेको कार्यक्रममा वरिष्ठ नेता पौडेलले ब्यवस्था जोगाउन सके सत्ता र अवसर पटकपटक आउने बताएका हुन् ।
व्यवस्थाका लागि ७० वर्ष लडेको कांग्रेसका सामु अहिले फेरि त्यो व्यवस्था जोगाउने दायित्व र जिम्मेवारी आएको भन्दै वरिष्ठ नेता पौडेलले कांग्रेस ब्यवस्था जोगाउन लाग्नुपर्नेमा जोड दिए ।
केही समय अघि प्रधानमन्त्री केपी ओलीले संसद विघटन गर्दा कांग्रेसभित्र कोही संसद पुनस्र्थापनाका पक्षमा त कोही चुनावको पक्षमा देखिनु गलत भएको र यस्तो तरिकाले पार्टीलाई र ब्यवस्थालाई नै घाटा हुने उनले बताए ।
अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गरिदिएपछि पनि अर्लि इलेक्सन भन्ने सुनिन थालेको भन्दै उनले प्रश्न गरे– अहिले पनि हाम्रा साथीहरु चुनाव चुनाव भन्दै हुनुहुन्छ । संसद विघटन गर्ने कुनै अधिकार नै छैन भनेर अदालतले ब्युँताइदिइसकेपछि पनि फेरि किन मंसिर वा फागुनमा चुनाव भनिँदैछ ?
कांग्रेसले अहिले चुनाव नभएर यही संसदलाई जोगाएर र उपयोग गरेर अघि बढ्नुपर्ने र यसअघिको चुनावको पाँच वर्ष पुगेपछि आवधिक निर्वाचनमा ठुलो दलका रुपमा अघि आउनुपर्ने पौडेलले बताए ।
वरिष्ठ नेता पौडेलले अहिले संसदीय व्यवस्था असफल बनाउने कोशिश भइरहेको दाबी गर्दै कम्युनिष्ट र दक्षिणपन्थीहरु संसदीय व्यवस्थाका विरुद्धमा रहेकाले उनीहरु संसदीय ब्यवस्थालाई खराब देखाउन लागिपरेको दाबी पनि गरे ।
‘दक्षिणपन्थीहरु संसदीय व्यवस्थालाई विदेशीको व्यवस्था भन्छन, कम्युनिष्टहरु संसदीय प्रणालीलाई वुर्जवा व्यवस्था भन्छन्, संसदीय प्रणाली त कांग्रेसको आर्दश हो । अहिलेको प्रहार भनेको संसदीय व्यवस्थामाथि प्रहार भइरहदा यसैलाई मलजल गर्ने कि निस्तेज बनाउन लाग्ने हो ?’
संविधान नै फाल्ने कोशिश गर्ने संसद नै फाल्न अराजक र निरंकुश बन्दै गएका केपी ओलीको विकल्प यहि संसदबाट खोज्नुपर्ने र कांग्रेसले आफ्नो नेतृत्वमा नयाँ सरकार बनाउनुपर्ने उनले बताए । अब आफ्नो नेतृत्वमा सरकार बनाएर आवधिक चुनाबमा पहिलो दल बन्दै देशलाई विकासको नयाँ उचाइमा पुर्याउनुपर्नेमा वरिष्ठ नेता पौडेलले जोड दिए ।
उनले कांग्रेसले आफ्नो विरासत जोगाउन नसक्दा कांग्रेस स्वयम र देशका लागि पनि ठुलो घाटा भएको दाबी पनि गरे । ‘आफ्नौ विरासत नबुझेपछि दुख हुन्छ’, वरिष्ठ नेता पौडेलले भने समान्तवाद, ठालुतन्त्र र शोषणको विरोधमा जन्मिएको दल नेपाली कांग्रेसले आफ्नो मौलिकता धानेर राख्न नसकेको र गरिब निमुखा र अन्यायमा परेका ब्यक्तिहरुको आवाज बन्न नकसकोले समस्या भएको हो । नेपालमा कम्युनिष्ट बढेका होइनन, कांग्रेस घटेको हो ।’





प्रतिक्रिया