देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेसले माग्यो प्रधानमन्त्रीको राजीनामा, आफ्नै नेतृत्वमा सरकार बनाउने

देशान्तर

काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कमिटी बैठकले ओलीको राजीनामा माग्ने निर्णय गरेको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आजको बैठकबाट प्रतिगामी कदम चालेका ओलीलाई सत्ताबाट हटाएर आफैं सरकारको नेतृत्व गर्ने निर्णय लिएको जानकारी दिएका छन् । देशको वर्तमान राजनीति र सत्ता फेरबदल बारेमा सभापति शेरबहादुर देउवाको निर्देशनमा सह-महामन्त्री पूर्णबहादुर खड्काले धारणा राखेका थिए ।

उनले वर्तमान सरकार र राजनीतिक अवस्थाबारे ब्रिफिङ गर्ने क्रममा अब नेपाली कांग्रेस आफैंले सरकारको नेतृत्व लिनुपर्ने बताएका थिए । ‘नेपाली कांग्रेस केन्द्रीय कमिटी बैठकले २०७ वैशाख १७ गते नै यो सरकारले शासन गर्नै नैतिकता गुमाएको ठहर गरेको थियो’, प्रवक्ता शर्माले भने, ‘तर राजीनामा नमागेको अवस्था थियो । त्यसबेला सरकारको विश्लेषण गर्न सहज थियो तर बिदा गर्न अंगणितीय हिसाब सहज थिएन ।’

शर्माले कोरोना संकट आएपछि यो सरकारले भ्रष्टाचार गरेसँगै शासन गर्ने नैतिकता गुमाएको बताए । ‘जनविरोधी कदम जारी राखेको सरकारले प्रतिनिधिसभा विघटन गरेको थियो । त्यसलाई कांग्रेसले असंवैधानिक भनेको छ,’ उनले भने, ‘सर्वोच्च अदाललते प्रतिनिधिसभा फर्काएको एक महिना बितिसक्दा प्रधानमन्त्रीले नैतिकताका आधारमा मार्ग प्रशस्त गर्नुपर्थ्यो । प्रतिनिधिसभा काम नलाग्ने भनेको अवस्थामा पुन:स्थपित प्रतिनिधिसभामा प्रधानमन्त्रीले सम्बोधन गरेर राजीनामा दिनुपर्थ्यो तर त्यस्तो भएन ।’

प्रधानमन्त्रीले नैतिक आधारमा राजीनामा नदिइ ढिपी गरिरहेको निचोड कांग्रेसले निकालेको छ । ‘अब कांग्रेसले राजीनामा माग्ने निर्णय गरेको छ । कांग्रेसलाई यसअघि माओवादी प्रधानमन्त्री हुनुपर्छ भनेको थियो,’ उनले भने, ‘तर हाम्रा सभापति भने प्रधानमन्त्री हुने हतारोमा हुनुहुन्‍न । कांग्रेसले प्रधानमन्त्री बन्‍न हतारो नगर्ने भनेको थियो। तर अब हामीले राजीनामा मागिसकेपछि कांग्रेसकै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय भएको छ ।’

कांग्रेसले असंवैधानिक र जनविरोधी कदम चालेर द्वन्द्वमा केन्द्रित प्रधानमन्त्रीले नैतिक रुपमा शासन त्यागेर विकल्प नदिएको भन्दै आलोचना गरेको छ । ‘आजको बैठकले कांग्रेस नेतृत्वमा सरकार बनाउने पहल गर्ने निर्णय लिएको छ’, शर्माले भने, ‘पुस ५ मा प्रतिगमन भएपछि आन्दोलनमा उत्रेका दलहरूसँग सहकार्य गर्न वार्ता थाल्दैछौँ । सरकार विस्थापित गर्नुपर्छ भन्ने दलहरुले एक ठाउँमा उभिएर विकल्पतर्फ लाग्नुपर्छ ।’