काठमाडौं – नेकपा एमालेले पार्टीभित्रको आन्तरिक विवाद मिलाउन कार्यदल गठन गर्ने भएको छ । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बिहीबार भएको भेटघाटमा पार्टीभित्रको अन्तरविरोधमा समाधान खोज्न कार्यदल गठन गर्ने सहमति भएको हो ।
प्रधानमन्त्री ओलीसँगको भेटपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेता नेपालले तत्कालका लागि राजीनामा दिन विषय टरेको र पार्टीभित्र देखिएको विवाद समाधान गर्न कार्यदल गठन गर्ने सहमति भएको जानकारी दिए । उनले आफूले वैशाख २६ गते अध्यक्ष ओलीलाई पठाएको ६ बुँदे प्रस्तावमा छलफल भएको र सर्वोच्च अदालतको फैसलाबमोजिम ०७५ जेठ २ गतेको अवस्थामा पार्टीलाई पुर्याई नयाँ ढंगले अघि बढाउनेबारे छलफल भएको जानकारी दिए ।
छलफल मिल्ने दिशामा अघि बढेको उनको भनाइ थियो । ‘फागुन २८ गते र त्यसपश्चात् भएका निर्णय फिर्ता गर्ने र सर्वोच्च अदालतको फैसलाबमोजिम जेठ २ गतेको अवस्थामा पुर्याउने र पार्टीलाई नयाँ ढंगले अघि बढाउनका लागि हामीले कुन तरिका अवलम्बन गर्ने भन्नेबारेमा छलफल जारी राख्ने कुरा भएको छ,’ नेता नेपालले भने, ‘राजीनामा दुई-चार दिनलाई टर्यो । कार्यदल बन्छ । मिल्ने दिशामा अगाडि बढ्न खोजिएको छ ।’
बिहीबार बिहान बसेको नेकपा एमाले स्थायी समिति बैठकले राष्टिय राजनीतिमा र पार्टीभित्र महत्व राख्ने सम्पूर्ण विषयको निर्णय गर्ने अधिकार अध्यक्ष ओलीलाई दिएको थियो । साथै, अन्तरपार्टी एकता र सुदृढीकरणका लागि आवश्यक निर्णय गर्ने अधिकार पनि अध्यक्ष ओलीलाई नै दिएको थियो । सोही बैठकले नेता नेपालसहित चारजना नेतामाथि लगाएको निलम्बन पनि फुकुवा गरेको थियो ।





प्रतिक्रिया