काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुँदै छन् । २७ वैशाखमा प्रतिनिधि सभाबाट विश्वासको मत पाउन नसकेर पदमुक्त भएका ओलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पुनः प्रधानमन्त्री नियुक्त गर्न लागेकी छन् ।
ओली पदमुक्त भएपछि राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (२) बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलको समर्थनमा गठबन्धनको सरकार बनाउन दाबी पेश गर्न बिहीबार राति ९ बजेसम्मको समय दिएकी थिइन् । तर, राष्ट्रपतिले दिएको समय सीमामा कुनै पनि दलले बहुमत पुर्याउन सकेनन् । उक्त समयभित्र दाबी गर्न नसकेपछि ओली ठूलो दलको नेताको रूपमा प्रधानमन्त्री नियुक्त हुन लागेका हुन् ।
संविधानको धारा ७६ (३)मा प्रतिनिधि सभामा दुई वा दुई भन्दा बढी दलको समर्थनमा प्रधानमन्त्री बन्न नसकेमा वा त्यसरी नियुक्त भएको प्रधानमन्त्रीले ३० दिनभित्रमा सभाबाट बहुमत पाउन नसकेमा प्रतिनिधि सभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्ने व्यवस्था छ । संविधानको यही व्यवस्थाअनुसार राष्ट्रपति भण्डारीले ओलीलाई प्रधानमन्त्री नियुक्त गर्नेछिन् ।
स्रोतका अनुसार, ओलीले प्रधानमन्त्रीको सपथ शुक्रबार दिउँसो साढे २ बजे लिनेछन् । यसरी नियुक्त भएको ३० दिनभित्र प्रधानमन्त्री ओलीले प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्नेछ । विश्वासको मत पाएमा ओलीले प्रतिनिधि सभाको बाँकी अवधिभर शासन चलाउनेछन् भने पाउन नसकेमा राष्ट्रपतिले संविधानको धारा ७६ (५) बमोजिम प्रतिनिधि सभाको कुनै सदस्यलाई बहुमत पुर्याउन सक्ने दाबीसहित सरकार गठन गर्न आउन आह्वान गर्नेछिन् ।
त्यसरी कोही सांसद प्रधानमन्त्री नियुक्त भएमा उसले पनि ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्छ । उपधारा ५ बमोजिम कोही सांसद् प्रधानमन्त्री नियुक्त हुन नसकेमा वा नियुक्त भए पनि विश्वासको मत पाउन नसकेमा प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरी ६ महीनाभित्र चुनाव सम्पन्न गर्नेगरी निर्वाचनको मिति तोक्न सक्ने व्यवस्था संविधानमा छ ।
कांग्रेस-माओवादी ‘फेल’
यदि कांग्रेस-माओवादीलाई सिङ्गो जसपाले साथ दिएको भए ७६ (२) अनुसारै बहुमतको सरकार सजिलै बन्थ्यो । तर, जसपा आफैं पनि एकमत हुन सकेन । खासगरी ठाकुर-महतो पक्षले विपक्षी गठबन्धनबाट सरकारमा नजाने अडान लिएपछि संसद्का दुई ठूला दल कांग्रेस-माओवादी ‘फेल’ भए ।
बहुमत पुर्याउनको लागि दिनभरी नै विभिन्न भेटघाट, सम्वाद तथा आन्तरिक छलफलमा व्यस्त देखिएका दुई दल तीन दिने म्याद घर्किँदासम्म पनि खाली हात नै रहे । कारण, उनीहरुले कतैबाट बहुमत पुर्याउन सकेनन् । दिउँसो कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच वार्ता भएको थियो । वार्ताबाट सरकारको दाबी गर्दै शीतल निवास जाने सहमति भएपनि कतैबाट बहुमत पुग्ने सम्भावना नदेखेपछि उनीहरु ‘ब्याक’ भए । ‘अब जे गरेपनि बहुमत पुग्दैन । अब धेरै झन्झट नगरौँ,’ सभापति देउवालाई उद्धृत गर्दै कांग्रेस सांसद पुष्पा भुसालले भनिन् ।
साँझ बुढानीलण्ठकमा बसेको संसदीय दलको बैठकम यस्तो ब्रिफिङ्ग गरेका देउवाले दिउँसै असन्तुष्ट जसपाका नेताद्वय ठाकुर-महतोसँग पनि बातचीत गरेका थिए । तर, कुनै पनि सहमति जुरेन । भेटका क्रममा देउवाले आफू नेतृत्वको सरकारलाई सहयोग गर्न भनेका थिए भने ठाकुरले पनि सोही आग्रह दोहोर्याएका थिए । त्यसपछि ‘जसपाको भर नपर्नु’ भनी बुढानीलण्ठबाट निस्केका ठाकुर भक्तपुरको एक रिसोर्टमा मस्तिए ।
यसरी दलीय जोड-घटाउ नमिल्दा कांग्रेस-माओवादीको नयाँ सरकारको साझा सपना चकानाचुर भयो । ओली पुनः कम्तीमा एक महिनाका लागि प्रधानमन्त्री बन्ने भए । एक महिनापछि उनले पुनः विश्वासको मत लिनुपर्छ । जहाँ, ओलीले पुनः बहुमत ल्याउनुपर्ने चुनौती हुन्छ ।
विपक्षी एमाले ‘ब्याक’
बुढानीलण्ठकमै करिब ३ घण्टा बातचीत गरेका ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सकारात्मक सहमति भएको छ । ओलीसँगको वार्तापछि पत्रकारहरुसँग कुराकानी गर्दै नेता नेपालले भने- ‘अब दुई÷चार दिनको लागि राजीनामा टर्यो । कार्यदल बन्ने भयो ।’
योसँगै ०७५ जेठ दुई मा फर्किनुपर्ने ‘बटमलाइन’ बोकेको नेपाल पक्ष केही ‘ब्याक’ भएको छ । आफू नै प्रधानमन्त्री बन्ने र एक महिनासम्ममा नेपाल पक्षलाई पनि आफूतिरै तान्ने मनसुबा बोकेका ओली कांग्रेस-माओवादीसँग बहुमत पुग्दैन र पुर्याउन सक्दैन भन्ने कुरामा विश्वस्त थिए । तर, कांग्रेस-माओवादी भने नेपाल पक्षले राजीनामा दिए प्रतिनिधि सभामा कायम रहने संख्या घट्ने र आफ्नो बहुमत पुर्याउन सहज हुने विश्लेषणमा थिए । तर, त्यो पनि भएन । यसरी नेपाल पक्ष ‘ब्याक’ भएसँगै कांग्रेस-माओवादीको बहुमतको सरकारको सपना चुँडिएको छ ।





प्रतिक्रिया