काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले बजेट वक्तव्यमार्फत लिएको चुरे दोहनको मार्ग प्रशस्त गर्ने नीति जनविरोधी र दूरगामी रूपमा घातक भएको बताएको छ।
बुधबार विज्ञप्ति जारी गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले चुरे क्षेत्रबाट ढुङ्गा, गिटी बेचेर व्यापार घाटा कम गर्ने सरकारी योजनाको विरोध गरेका हुन् । चुरे दोहन पानीको स्रोत सुकाएर व्यापार घाटा न्यून गर्ने नारा खरानीको व्यापार गर्न घर जलाएजस्तै’ भन्दै कांग्रेसले टिप्पणी गरेको छ ।
सरकारको यस्तो योजनालाई ‘मधेसलाई मरुभूमि बनाउने षड्यन्त्र’ भन्दै कांग्रेसले तत्काल फिर्ता गर्न माग गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘विगतका गल्ती सच्याएर अघि बढ्न निश्चित गरिएको नीतिलाई विस्थापित गरेर पुनः दोहनलाई प्रोत्साहन गर्नु सामान्य गल्ती होइन, प्रकृति विरुद्धको अपराध र देशको तराई–मधेस क्षेत्रलाई भविष्यमा मरुभूमीकरण गर्ने गम्भीर षड्यन्त्र हो ।’
कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाको नेतृत्वमा रहेकोे सरकारले ‘राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति’ गठन गरेर चुरे क्षेत्रको दोहन रोक्न र चुरे संरक्षण गर्न विकास समिति मार्फत विभिन्न मापदण्ड निर्धारण गरेको विज्ञप्तिमा स्मरण गराइएको छ ।






प्रतिक्रिया