देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

‘अब ओलीसँग मिल्न सकिँदैन, नयाँ पार्टी खोल्न ढिला नगरौँ’

देशान्तर

काठमाडौं – पूर्वप्रधानमन्त्री एवम् एमालेबाट कारबाहीमा परेका नेता झलनाथ खनालले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग मिलेर जान नसकिने बताएका छन्। माधव नेपाल-खनाल समूहका केन्द्रीय सदस्यहरुको बिहीबार भएको भर्चुअल बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।

‘अब ओलीसँग मिलेर अघि बढ्न सकिने सम्भावना सकिएको छ’, बैठकमा उनको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले फरकधारसँग भने, ‘अब नयाँ पार्टी खोल्न ढिला गर्नु हुँदैन। जति ढिला भयो उति धेरै घाटा हामीलाई नै हुन्छ।’

उनले ओलीले पार्टीको सबै विधि विधान मिचिसकेको आरोप लगाएका थिए। ‘ओलीले पार्टीका सबै विधि विधान मिचिसके, अब मिल्नुको पनि अर्थ छैन’, उनले भने, ‘अब हामीसँग नयाँ पार्टी खोल्नेबाहेक विकल्प छैन, यसमा ढिला नगरौँ।’

नेता खनालले ओलीको आलोचनामै आफ्नो समय खर्चिने क्रममा साहसका साथ नयाँ पार्टी खोलेर अघि बढ्नुपर्ने मत राखेका थिए। ‘अब आत्तिने बेला छैन, नयाँ जोस र जाँगरका साथ बढ्ने बेला आएको छ’, उनले भने, ‘हामीसँग कम्युनिष्ट आन्दोलनका सच्चा नेता कार्यकर्ता रहेकाले डराउनुपर्ने कुरै छैन।’

आफूहरुको समूह अहिले सानो भए पनि नयाँ पार्टी खोलेपछि फैलिने उनको तर्क थियो। ‘अहिले समूह सानो भए पनि नयाँ पार्टी खोलेपछि भविष्यमा राम्रो कार्यक्रम र एजेन्डाका साथ फैलिन गाह्रो छैन’, उनले भने, ‘विगतमा पनि हामी सानो समूहबाटै देशकै ठूलो दल बनेका हौँ, विगतमा जस्तै अहिले पनि त्यतिकै मिहिनेत गरेमा स्थापित हुन समय लाग्दैन।’

खनालले अब ओलीसँग मिल्ने नाममा कुनै किसिमको सम्झौता गर्न नहुने अडान राखे। ‘ओलीसँग अब कुनै हालतमा सम्झौता गर्न हुँदैन’, उनले भने, ‘पार्टीलाई २०७५ जेठमा फर्काउने आश्वासन दिएर उनले हामीलाई निरन्तर अलमल्याउने काम मात्रै गरेका छन्।’