देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

डुबेर मृत्यु भएका पाँच बालिकाको परिवारलाई प्रदेश सरकारद्वारा राहत घोषणा

देशान्तर


धनुषामा पोखरीमा डुबेर पाँच बालिकाको एकैपटक मृत्यु भएका परिवारलाई प्रदेश नं २ सरकारले राहतस्वरूप एक-एक लाख दिने घोषणा गरेको छ ।

धनुषाको दक्षिणी सीमावर्ती मुखियापट्टि मुसहरनिया गाउँपालिका–६ स्थित पोखरीमा डुबेर स्थानीय पल्टु यादवकी १२ वर्षीया छोरी लक्ष्मीनिया, जोगिन्द्र भगतकी १० वर्षीया छोरी चन्द्रकुमारी, राजगिर पूर्वेकी १३ वर्षीया छोरी मञ्जु, जगरनाथ ठाकुरकी १२ वर्षीया छोरी चान्दनी र उतिम साह तेलीकी १२ वर्षीया नातिनी ललिताको मृत्यु भएको थियो ।
मृत्यु भएका पाँच बालिकाका परिवारलाई प्रदेश नं २ सरकारले राहतस्वरूप प्रतिपरिवार रु एक लाख दिने घोषणा सरकारका तर्फबाट नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री रामसरोज यादवले गरेका हुन् ।
मन्त्री यादव निर्वाचित धनुषाको क्षेत्र नं ३ भित्रै घटना भएको पालिका हो । प्रादेशिक अस्पतालमा मृतक बालिकाको शव परीक्षणपश्चात परिवारलाई जिम्मा लगाउने बेला अस्पताल पुगेर मन्त्री यादवले पीडित परिवारजनलाई शनिबार भेटेर समवेदना प्रकट गर्दै राहत रकमको घोषणा गरेका हुन् ।

त्यसैगरी क्षेत्र नं ३ कै सङ्घीय सरकारमा नेकपा एमालेको तर्फबाट समानुपातिक सांसद तथा निर्वतमान महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीसमेत रहेकी जुली महतोले गाउँमै पुगेर पीडित परिवारहरुसँग भेटघाट गर्दै व्यक्तिगत तर्फबाट पाँच परिवारलाई प्रतिपरिवार किरिया खर्चस्वरूप १० हजारसहयोग गरेकी छिन् ।
मृतक पाँचै जनाको शव परीक्षणपश्चात गाउँ लगेर अन्तिम संस्कार गरिएको छ । गरिब विपन्न परिवारका बालिकाहरुको एकै ठाउँमा एकैपटक मृत्यु हुँदा अहिले गाउँ शोकमा डुबेको छ ।