देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

चुलियो व्यापार घाटा

देशान्तर

विश्वव्यापीरूपमा फैलिएको कोभिड—१९ का कारण आर्थिक गतिविधि ठप्प हुँदा आयात बढेको छ। चैत्रको तुलनामा वैशाखमा झन्डै दोब्बर आयात भएको छ। 

नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७७/०७८ को १० महिनामा नेपालको व्यापारघाटा २१.५ प्रतिशतले वृद्धि भई ११ खर्ब ४५ अर्ब ६३ करोड पुगेको छ। चैत्र महिनासम्म व्यापारघाटा १२.५ प्रतिशतले बढेर १० खर्ब १६ अर्ब ६३ करोड पुगेको थियो। दोस्रो भेरियन्टको रूपमा कोभिड देखा परेपछि वैशाख १६ गतेदेखि काठमाडौंलगायत देशभर नै निषेधाज्ञा लगाइएको छ। यस क्रममा उत्पादन घटेका कारण निर्यात घट्नुका साथै आयात भने उकालो लागिरहेको छ। 

अघिल्लो वर्षको वैशाखमा व्यापार घाटा १४.२ प्रतिशतले घटेको थियो। अघिल्लो वर्षको सोही अवधिमा निर्यात आयात अनुपात ८.० प्रतिशत रहेकोमा समीक्षा अवधिमा यो अनुपात ८.६ प्रतिशत पुगेको छ। 

वैशाखसम्म कुल आयात २२.३ प्रतिशतले वृद्धि भई १२ खर्ब ५४ अर्ब ११ करोड पुगेको छ। चैतसम्म १३.१ प्रतिशतले बढेर ११ खर्ब ११ अर्ब ४० करोड रुपैयाँ पुगेको थियो।

वैशाखसम्म कुल वस्तुको निर्यात ३२.२ प्रतिशतले वृद्धि भई  १ खर्ब ८ अर्ब ४८ करोडको निर्यात भएको छ। चैत्रसम्म निर्यात ९४ अर्ब ७७ करोड रुपैयाँको थियो। 

आयातको हिस्सा धेरै भारतसँग निर्भर छ। भारतबाट २९.८ प्रतिशत, चीनबाट १७.२ प्रतिशत र अन्य मुलुकबाट ६.३ प्रतिशतले आयातमा वृद्धि भएको छ। यातायातका साधन तथा पार्टपुर्जा, कच्चा सोयबिन तेल, एमएस बिलेट, चामल, दूरसञ्चारका उपकरण तथा पाटपुर्जालगायतका वस्तुको आयात बढेको छ। हवाईजहाजका पार्टपुर्जा, पेट्रोलियम पदार्थ, कच्चा पाम तेल, भिडियो, टेलिभिजन तथा पार्टपुर्जालगायतका वस्तुको आयात घटेको छ। 

सोयबिन तेल, अलैंची, जुटका सामान, धागो (पोलिस्टर तथा अन्य), पश्मिनालगायतका वस्तुको निर्यात बढेको छ।  पाम तेल, दाल, जस्तापाता, तार, चोकरलगायतको निर्यात घटेको छ। निर्याततर्फ भारतमा ३५.८ प्रतिशत वृद्धि भएको छ भने चीनमा १८.४ प्रतिशतले कमी आएको छ। चीनसँगको पछिल्लो एक वर्षयता व्यापार ठप्प प्रायः छ। 

देशमा उत्पादन घट्दै गएपछि आयात गर्नुपर्दा चालू खाता घाटा बढ्न थालेको छ। शोधनान्तर बचत पनि क्रमशः खुम्चिन थालेको छ।  वैशाखसम्म चालू खाता घाटा २ खर्ब ७७ अर्ब ८ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालू खाता ९६ अर्ब १८ करोडले घाटामा थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा  ८६ करोड ५९ लाख रहेकोमा समीक्षा अवधिमा २ अर्ब ११ करोडले घाटामा छ। 

शोधान्तर बचत ७ अर्ब ७५ करोडले बचतमा छ। अघिल्लो वर्ष सोही अवधिमा शोधान्तर स्थिति १ खर्ब २० अर्ब ९० करोडले बचत थियो। विदेशी मुद्राको सञ्चिति पनि क्रमशः घट्न थालेको छ। असार मसान्तसम्म १४ खर्ब १ अर्ब ८४ करोड सञ्चिति रहेकोमा वैशाखसम्म १३ खर्ब ९० अर्ब ८४ करोड छ।