देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एक व्यक्ति एकै कार्यकालमा सबै धारा अनुसार प्रधानमन्त्री हुने व्यवस्था संविधानमा छैन : आचार्य

देशान्तर

काठमाडौँ – संविधानविद् भीमार्जुन आचार्यले एउटा व्यक्ति एकै कार्यकालमा संविधानको सबै धारा प्रयोग गरेर प्रधानमन्त्री हुने व्यवस्था संविधानमा नभएको बताएका छन् ।

आइतबार संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमाथि बहस गर्दै अधिवक्ता आचार्यले एउटा व्यक्तिले एउटै कार्यकालमा संविधानका सबै धारा अनुसार प्रधानमन्त्री हुन पाउने भन्ने कहीँ नलेखेको जिकिर गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६ को उपधारा ४ को प्रावधान अनुसार ३० दिनभित्र संसदमा विश्वासको मत लिनैपर्ने आचार्यले जिकिर गरेका छन् ।

धारा ७६ ४ को प्रक्रिया हाउसमा पूरा नगरीकन अर्को प्रक्रियामा जान नपाइने व्यवस्था संविधानले गरेको उनको दाबी छ । धारा ७६ को उपधारा ५ अनुसार दलीय निर्देशन ह्वीप नलाग्ने दाबी गर्दै उनले भने, ‘राजनीतिक दलसम्बन्धी ऐन अनुसार ह्वीप उल्लंघन गरे पनि दल त्याग गरेको मानिँदैन ।’

प्रधानमन्त्री नियुक्तिबारे राष्ट्रपतिले संविधान बाहिर गएर निर्णय गर्न नमिल्ने उल्लेख गर्दै आचार्यले एकपछि अर्को प्रक्रिया अभ्यासगत रुपमा प्रतिनिधिसभामै हुनुपर्ने जिकिर गरे ।