देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अविरल वर्षाका कारण पर्साको दर्जनौं बस्ती डुवानमा

देशान्तर

वीरगञ्ज – मङ्गलवार रातिदेखि परेको अविरल वर्षाका कारण पर्साका दर्जनौं बस्ती डुवानमा परेका छन्।

असारे विकासको नाममा निर्माण भएका गुणस्तरहीन नालाहरुबाट पानीको सहज निकास नहुँदा ती बस्तीहरु डुवानमा परेको हुन्। वर्षाको पानी नालाबाट राम्रोसँग निकास नभएपछि कतिपयको घर तथा पसलहरुमा पनि पानी छिरेको छ।

प्लाष्टिकजन्य फोहोरहरु सडक र नालामा फाल्ने गरिएको कारण नाला जाम हुने गरेको छ। अविरल वर्षाले पर्साको ग्रामीण क्षेत्रका नदी र खोलाहरूमा पानीको सतह बढेर बस्ती डुबानमा परेका छन् । नदी र खोलाको बाढीले केही स्थानमा खेतीयोग्य जमीनसमेत कटान गरेको छ।

भेलका कारण पश्चिमी पर्साको विभिन्न बस्ती डुबानमा परेका छन् । । यसैगरी हालसालै निर्माण भएको हुलाकी सडक भन्दा होचो स्थानमा रहेको उत्तरतर्फका अधिकांश बस्ती डुवानमा परेको भएपनि कुनै मानवीय क्षति नभएको प्रहरी निरीक्षक ब्रहमदेव साहले जानकरी दिए । उनले बाढी पहिरोको जोखिममा रहेका बस्तीहरुमा सुरक्षाकर्मीहरुले तदारुकताका साथ खटिने गरेकाले अहिलेसम्म कुनै पनि मानवीय क्षतिको घटना हुन नसकेको बताए।

लगातारको अविरल वर्षाका कारण ओरिया खोलामा आएको बाढीले वीरगञ्ज ठोरी हुलाकी सडकखण्डको गोपी बस्ती नजिकै सडकलाई क्षति पुर्‍याएको छ। हुलाकी सडक जोगाउन निर्माण गरिएको तटबन्ध बाढीले भत्काएकाले सो क्षति पुगाएको छ ।

यसैगरी बाढीका कारण पर्साको जीराभवानी गाउँपालिका—१ पिपराका दर्जनौ घर डुवानमा परेका छन् ।

अविरल वर्षाका कारण लाटेगाँडा खोलामा आएको बाढी गाउँमा पस्दा स्थानीयवासी शङ्कर दास, किशुन महतो, जङ्गाली राय, खिचड़ी महतो, शिवशङ्कर दासलगायत १६ जनाको घर डुवानमा परेको हो। पानीले स्थानीयवासी राजकुमार दास, ब्रहमदेव दास, सनोज दास र महेन्द्र शर्माको फुसको घर भत्किएको इलाका प्रहरी कार्यालय सेढवाले जनाएको छ। बाढीबाट पीडित भएकाले स्थानीय सरकार तथा जिल्ला विपद् व्यवस्थापन समितिले राहत वितरण गर्नुपर्ने माग गरेका छन्।