देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राष्ट्रिय सभामा राष्ट्रपति भण्डारीले सम्बोधन गर्ने

देशान्तर

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभामा सम्बोधन गर्ने भएकी छिन् । राष्ट्रिय सभा सचिवालयका अनुसार आइतबार वा सोमबारतिर राष्ट्रपतिले सम्बोधन गर्नेगरी तयारी थालिएको छ ।

राष्ट्रिय सभाको आठौं अधिवेशन संघीय संसद् भवन बानेश्वरमा बिहीबारबाट सुरु हुँदै छ । प्रतिनिधिसभा दोस्रो पटक विघटन भएको अवस्थामा माथिल्लो सदनको बैठक सुरु हुन लागेको हो । बिहीबारको बैठक अपरान्ह ४ बजेदेखि सुरु हुने कार्यसूची रहेको छ ।प्रतिनिधिसभा विघटन भएको अवस्थामा सांसदहरूले राष्ट्रिय सभामा मुलुकमा विविध समस्याका विषय उठाउने तयारी गरेका छन् । सातौं अधिवेशन गत पुस २६ मा अन्त्य भएको थियो ।

गत पुस ५ गते प्रतिनिधिसभा विघटन भएको अवस्थामा राष्ट्रिय सभाको सातौं अधिवेशनको बैठक बसेको थियो । दोस्रो पटक गत वैशाख ७ गते राति राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा फेरि विघटन गरेको मुद्दा अहिले सर्वोच्च अदालतमा सुनुवाइका क्रममा छ ।

एउटा बैठक अन्त्य भएको ६ महिनामा अर्को बोलाउनुपर्ने संवैधानिक प्रावधानअनुसार राष्ट्रिपति भण्डारीले अधिवेशन आह्वान गरेकी हुन् । राष्ट्रिय सभा सचिवालयका अनुसार बैठकमा यसअघि सरकारले जारी गरेका १२ वटा अध्यादेश प्रस्तुत गरिनेछ ।

 

त्यस्तै उपप्रधानमन्त्री तथा गृहमन्त्री विष्णु पौडेलले बाढीपहिरोले देशका विभिन्न भागमा पुर्‍याएका क्षति र राहत तथा उद्धारकार्यका बारेमा जानकारी गराउने राष्ट्रिय सभा सचिवालयले जनाएको छ ।