देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एमालेको बैठक बस्दै, नेपाल पक्ष सहभागी नहुने

देशान्तर

नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज बस्दै छ ।  वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूह भने यो बैठकमा सहभागी नहुने भएको छ ।

बिहीबार बसेको सो समूहको बैठकले शुक्रबार बोलाइएको बैठक अवैध भएको निष्कर्ष निकाल्दै सहभागी नहुने निर्णय गरेको हो ।

पार्टीलाई २०७५ जेठ २ अगाडिको अवस्थामा फर्काउनुपर्ने माग गर्दै आएको समूहले अहिलेकै स्थितिमा बैठकमा सहभागी हुन नसकिने जनाएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले १० औं महाधिवेशन आयोजक कमिटी भंग भरी त्यसलाई केन्द्रीय कमिटीमा रुपान्तरण गरेका थिए ।

खनाल–नेपाल समूहले एमाले र माओवादी केन्द्रको एकता हुनुभन्दा अगाडिको केन्द्रीय कमिटी बैठक बोलाउन माग गर्दै आए पनि ओलीले पूर्वमाओवादीका नेताहरूलाई समेटेर केन्द्रीय कमिटी बनाएकाले बैठकमा सहभागी नहुने सो समूहको अडान छ ।

ओलीले दशौं महाधिवेशन आयोजक कमिटीलाई भंग गरेर त्यसैलाई केन्द्रीय कमिटीमा रुपान्तरण गरेका छन्, जसमा पूर्वमाओवादीका २० जना सदस्य छन् ।

नेकपा एमाले केन्द्रीय कमिटी बैठकको पूर्वसन्ध्यामा विहीबार राति प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच अनौपचारिक संवाद भएको छ ।

यसैबीच केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले आजको केन्द्रीय कमिटी बैठकमा सहभागी हुन माधव पक्षका नेताहरूलाई २०७५ जेठ २ कै हैसियत अनुसारको पद तोकेर पत्र पठाएका छन् ।

आज बिहान ११ बजे बालुवाटारमा तय गरिएको बैठकमा सहभागी हुन स्थायी कमिटी सदस्य, पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई उनीहरूको पद तोकेर पत्र पठाइएको कार्यालय सचिव तामाङले बताए ।