देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

ओली र नेपालबीचको टेलिफोन संवादपछि फेरि भाँडियो एमाले एकता

देशान्तर

काठमाडौं – सत्तारुढ नेकपाभित्रको आन्तरिक विवाद मिल्ने क्रममा रहेका बेला एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको टेलिफोन संवादपछि फेरि भाँडिएको छ । अध्यक्ष ओलीले नेता नेपाललाई शुक्रबार बिहान टेलिफोन गरी भेटघाट गरी सहमतिमा अघि बढ्न आग्रह गरेका थिए । ओलीको आग्रहलाई नेपालले अस्वीकार गरेपछि दोस्रो पुस्ताका नेताहरूले थालेको एकता पहल फेरि बिच्किएको छ ।

बिहीबार साँझ दुवै पक्षका नेताहरूले विवादको निकासका लागि ओली र नेपालबीच संवाद गराउने सहमति गरेका थिए । सोही बमोजिम ओलीले नेपालसँग भेटघाटको प्रस्ताव राखेका थिए । तर नेपालले भेट्न नमानेको स्रोतको दाबी छ । नेता नेपालले कुनै पनि कुरा नमिलीकन भेटघाट गर्नुको अर्थ नभएको र त्यसका लागि अहिले उपयुक्त समय पनि नभएको बताएपछि ओलीले शुक्रबार केन्द्रीय कमिटीको बैठक राखेका हुन् ।

केन्द्रीय कमिटी बैठकबाट विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर सोमबार अपराह्न ५ बजेसम्म फिर्ता लिन नेपाल पक्षलाई समयसीमा तोकिएको छ । नेपाल पक्षले भने प्रतिनिधिसभा विघटन र नयाँ सरकार गठनसम्बन्धी सर्वोच्च अदालतमा परेको मुद्दालाई उठाउनै नहुने बताएको छ । ओलीले मुद्दालाई प्रभावित पार्न नेपाल पक्षलाई हस्ताक्षर फिर्ता लिन समयसीमा तोकेका हुन्। सर्वोच्च अदालतबाट आउने निर्णयकै आधारमा पार्टीको विवाद निरूपण हुने भएकाले त्यस विषयमा अदालतकै निर्णय कुर्नुपर्ने नेपालले बताएका छन् । नागरिक दैनिकबाट