काठमाण्डौ – नेकपा माओवादी केन्द्रका पूर्वनेता टोपबहादुर रायमाझीले माओवादी केन्द्र भूमिगत र छापामार किसिमले चलिरहेको आरोप लगाएका छन् । शुक्रवार माओवादी केन्द्र खारेजीका लागि निर्वाचन आयोगमा परेको निवेदनको सम्बन्धमा बुझ्नका लागि अन्य नेतासहित पुग्नुभएका नेता रायमाझीले माओवादी केन्द्र नेपालको संविधान, कानुन र राजनीतिक दलसम्बन्धी ऐनअनुसार नचली भूमिगत र छापामार किसिमले चलिरहेको आरोप लगाएका छन् ।उनले विगत २९ वर्षदेखि त्यस पार्टीमा महाधिवेशन नभएको भए पनि २०६९ सालमा एउटा नाममात्रैको महाधिवेशन भएको र त्यसपछि पनि महाधिवेशन नभएका कारण पार्टी नै अवैध भएको पनि बताए । उनले अवैध पार्टीले जननिर्वाचित प्रतिनिधिलाई कारबाही गरको पनि उल्लेख गरेका छन् ।
उनले भने , ‘माओवादी केन्द्र नेपालको संविधान, नेपालको कानुन र राजनीतिक दलसम्बन्धी ऐनअनुसार चलिरहेको छैन । एक प्रकारले भन्ने हो भने भूमिगत र छापामार किसिमले यो पार्टी चलिरहेको छ । झन्डै २८र२९ वर्षसम्म यो पार्टीको कुनै महाधिवेशन भएको थिएन । एउटा महाधिवेशन भएको थियो २०६९ सालमा नाम मात्रैको । २०७८ सालसम्म, नौ वर्षसम्म अर्को महाधिवेशन त्यो पार्टीले गरेको छैन ।
एमाले, माओवादीको एकतालाई शून्य समय माने पनि झन्डै सात वर्ष भयो । राजनीतिक दलसम्बन्धी ऐनमा प्रत्येक पाँच वर्षमा महाधिवेशन गर्नुपर्ने भनेको छ । उसले आफ्नो अद्यावधिक गर्न सकिरहेको छैन । त्यस्तो अवैधानिक पार्टीले वैधानिक जनप्रतिनिधिलाई कारबाही गर्यो । सङ्घीय सांसद, प्रदेश सांसद, पालिकाका जनप्रतिनिधि, जनताबाट प्रत्यक्ष चुनिएका वैधानिक जनप्रतिनिधिलाई अवैधानिक पार्टीले कारबाही गर्ने रु’
उनले राजनीतिक पार्टीहरू संस्थागत, वैधानिक र कानुनसम्मत हुनुपर्ने बताए । देशमा राजनीतिक पार्टीहरूमा अराजकता, अस्वस्थ प्रतिस्पर्धा र द्वन्द्व चलेको भन्दै उनले पार्टीहरूलाई सिस्टममा नल्याइ समृद्धि आउन नसक्ने बताए । राजनीतिक पार्टीहरू बीचमा सुमधुर सम्बन्ध र स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने उल्लेख गर्दै उनले अन्य राजनीतिक दलसँग प्रतिस्पर्धा गर्न आफ्नो पार्टीभित्र आन्तरिक जनवादको प्रयोग गरी स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने पनि बतएका छन।
राजनीतिक पार्टीहरूलाई सिस्टममा ल्याउनका निम्ति आफूहरूले माओवादी केन्द्र खारेजीको मागसहित निर्वाचन आयोगमा निवेदन दिएको नेता रायमाझीले
बताएका छन् ।
नेता रायमाझीसँगै निर्वाचन आयोगमा माओवादी केन्द्रका पूर्वनेताहरू मणि थापा, प्रभु शाह लगायत पुग्नुभएको थियो । आफूहरूले माओवादी केन्द्र खारेजीको माग गर्दै आयोगमा परेको निवेदनको निर्णय छिटो गर्न पनि आयोग समक्ष आग्रह गरेको नेता रायमाझीले बताएका छन्।





प्रतिक्रिया