काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरु कोटेश्वर पुगेका छन्। पार्टीको विवाद समाधानका लागि निर्णायक वार्ता बस्नुअघि नेताहरु नेपाल निवास कोटेश्वरमा पुगेका हुन्। कार्यदलको बैठक अझै सुरु नभएको कार्यदलको संस्थापन पक्षको संयोजक सुवास नेम्वाङले जानकारी दिए।
हिजो झण्डै ७ घण्टा बसेको कार्यदलको बैठकले सबै विषयमा मोटामोटी सहमति जुटाइसकेको बताएको छ। माधव नेपाल पक्षले संसद पुनःस्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै अदालतमा बुझाएको हस्ताक्षर फिर्ता नलिने तर अदालतबाट जस्तोसुकै फैसला आए पनि पार्टी एकैठाउँमा रहने गरी सहमति भएको छ।
अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपालबीच शक्ति बाँडफाँटमा कुरा मिलिसकेको छैन। त्यसको जिम्मा स्वयम् दुई नेतालाई नै दिने कार्यदलको तयारी छ।
अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच गत जेठ २ गतेको सहमतिका आधारमा गठित १० सदस्यीय कार्यदलले कार्य गरिरहेका बेला जेठ ८ गते दोस्रोपटक प्रतिनिधिसभाको विघटन भएपछि एमालेमा विवाद बल्झिएको थियो।





प्रतिक्रिया