काठमाडौं । तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी (सपा) कायम राख्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । जनता समाजवादी पार्टी (जसपा) खारेजसँग राजपा र सपा कायम रहनुपर्ने माग रिटमार्फत गरिएको छ ।
राजपा–सपाबीचको एकीकरण प्रारम्भदेखिनै त्रुटिपूर्ण, कपटपूर्ण र संविधान तथा कानूनविपरीत रहेको भन्दै उत्प्रेषणको आदेशबाट बदर गर्न मागसहित राजपाका तत्कालीन उपाध्यक्ष राजकुमार थापाको तर्फबाट अधिवक्ता हृदयराज मिश्रलेले रिट दायर गरेका हुन् ।
यस्तै रिटमा मुद्दाको अन्तिम टुंगो नलागेसम्म जसपाको राजनीतिक क्रियाकलाप, सदस्य हेरफेर तथा अन्य सबै कामकारबाही यथास्थितिमा राख्न तथा राजनीतिक गतिविधिको सिलसिलामा हुने कुनै पनि निर्णयलाई रोक्नका लागि मुद्दालाई अग्राधिकार दिन माग गरिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिने कि नदिने भन्नेबारे बाझिएका जसपाका दुई खेमा अहिलेसम्म मिल्न सकेका छैनन् । बाबुराम भट्टराई–उपेन्द्र यादवपक्षीय जसपाले पार्टी आधिकारिकताको माग गर्दै निर्वाचन आयोग गएपछि थप छलफलका लागि आयोगले आगामी साउन ३ गते बोलाएको छ ।






प्रतिक्रिया