देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

माओवादी केन्द्रमा मन्त्री तोक्ने जिम्मा दाहाललाई

देशान्तर

काठमाडौं – नेकपा माओवादी केन्द्रले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा पठाउने मन्त्रीको नाम टुङ्गो लगाउने जिम्मा अध्यक्ष पुष्पकमल दाहाललाई नै दिएको छ । त्यसका लागि देउवासँग अध्यक्ष दाहालले छलफल गर्ने छन् ।

बैठकपछि माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘देउवासँग छलफल गरेपछि ठोस निर्णय गर्छौं ।’ पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको बैठकले सरकारलाई कसलाई पठाउने भन्ने निर्णय गर्ने अधिकार दाहाललाई दिएको हो । सरकारको विषयमा कांग्रेससँग थप छलफल गर्ने निर्णय भएको छ, त्यसपछि मन्त्री तोक्न सकेसम्म अर्को स्थायी कमिटीको बैठक बोलाउने, नभ्याइए अध्यक्षले नै टुङ्गो लगाउने निर्णय भएको एक नेताले जानकारी दिए ।

बैठकले प्रतिनिधिसभा विघटन बदर गर्ने परमादेश दिने सर्वोच्च अदालतलाई धन्यवाद पनि दिएको छ । त्यसैगरी गठबन्धन सरकार सञ्चालनका विधि र प्रक्रियाबारे काँग्रेससँग थप छलफल गर्ने निर्णय समेत भएको छ ।

सर्वोच्च अदालतले सोमबार प्रतिनिधिसभा विघटन बदर गर्दै कांग्रेस सभापति देउवालाई दुई दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो ।