देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

रातारात लुम्बिनी प्रदेश सभाको अधिवेशन अन्त्य, बजेट अलपत्र

देशान्तर

लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन मध्यरातमा अन्त्य गरिएको छ ।

प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख धर्मनाथप्रसाद यादवले गएराति १२ बजेदेखि प्रदेश सभाको चालु आठौं अधिवेशन अन्त्य गरेका हुन् ।

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरन्जीवि पौडेलले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम गएराति १२ बजेदेखि अधिवेशन अन्त्य भएको विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
यसअघि हिजो आर्थिक वर्ष २०७८/०७९ को बजेट पारित गर्न निर्णायार्थ पेश गर्नु पहिले सत्तापक्षका सांसदहरू प्रदेश सभा बैठक बहिस्कार गरेका थिए ।

बजेटमाथि प्रदेश सभा सदस्यहरूले राखेका प्रश्नको विभागीय मन्त्री र मुख्यमन्त्रीले जवाफ दिएपछि बजेट पास गर्ने समयमा विपक्षी दलका सांसदहरूले बहुमत नभएकोले बजेट पास नहुने बताएका थिए ।

बजेटमाथि छलफल गरेर सहमति जुटाउन एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले समय माग गरे पनि सभामुखले समय उपलब्ध नगराएपछि एमालेका सांसदहरू प्रदेशसभा बैठकबाट बाहिरिएका थिए ।
हाल ८३ सदस्यीय प्रदेश सभामा एमालेका ३८ र जनता समाजवादी दलको महन्थ ठाकुर पक्षका ३ जना गरी ४१ जना सांसद छन् ।

विपक्षी गठबन्धनमा नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका सभामुखसहित १७, जसपा उपेन्द्र यादव पक्षका ३ जना, राष्ट्रिय जनमोर्चाका १ र एमालेबाट निर्वाचित बिमला वली गरी ४१ जना नै सांसद छन् ।