काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पार्टी एकता प्रस्ताव लगेर आफूले गम्भीर गल्ती गरेको बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने क्रममा आइतवार संसदमा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् ।
उनले दुईतिहाइको सरकार ढलेर यस्तो अवस्था आउने थाहा भएको भए आफूले केपी ओलीसँग पार्टी एकता प्रस्ताव नै नलाने पनि उल्लेख गरे । ‘यस्तो दुर्दशा हुने थाहा भएको भए म किन पार्टी एकताको प्रस्ताव लान्थेँ होला,’ प्रचण्डले भने, ‘भिन्न मतलाई स्वीकार्न सक्ने आँट कोसँग छ भन्ने पनि अहिले देखाएको छ। ओलीजीको गतिविधिले नैतिकता र संस्कारको प्रश्न पनि जन्माएको छ ।’
उनले देउवालाई अदालतले प्रधानमन्त्री बनाएको नभई संविधानको धारा ७६ को ५ को ब्याख्या गरेको बताए । प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले विगतका अनुभवहरुको शिक्षा लिएर नै सचेत रुपमा नै धारा ७६ को ५ बनाएको दाबि गरेका हुन् । प्रचण्डले यस अघि धारा ७६ को ५ लाई संशोधनको प्रस्ताव किन नल्याएको भन्दै यो संसदलाई दिएको विशेष अधिकार दिएको बताए ।
प्रचण्डले दुई तिहाईको प्रधानमन्त्रीले दुई दुई पटक संसद भंग गरेको नेपालको इतिहासमा पहिलो पटक भएको बताए । उनले यस्तो दुर्दशा यति छिटो देख्नुपर्ला भन्ने भएको भए पार्टी एकताको प्रस्ताव आफुले किन लाने थिए भनेका छन् । प्रचण्डले प्रधानमन्त्री देउवाको शपथ ग्रहणको प्रसंग उठाउदै निवर्तमान प्रधानमन्त्री उपस्थित नभएको विषयलाई उठाएका छन् ।
उनले यो विषय लोकतन्त्रको विषय भएको भन्दै शपथ ग्रहणमा निवर्तमान प्रधानमन्त्री उपस्थित नहुनु अस्वाभाविक भएको बताए । प्रचण्डले संसदले आजपनि निवर्तमान प्रधानमन्त्रीले आफ्नै मुखबाट कुरा सुन्न चाहेको भएपनि त्यो पुरा नभएको बताए । प्रचण्डले केपी शर्मा ओलीले जालझेल गरेको भन्दै अब त्यस्तो जालझेल नचल्ने बताए । पार्टी भित्रको विवाद मिलाउन नसकेको कारणले संसदलाई शिकार बनाउन नपाइने बताउदै बहुमतलाई स्वीकार गर्न नसक्ने अभ्यास गलत भएको बताए ।
अहिलेको संबिधान शान्तिप्रक्रियापछिको गणतन्त्रपछिको संबिधान हो भन्ने कुरा किन बिर्सिदै छ ? भन्दै प्रश्न गरेका छन् । प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीले संबिधानको उपहास गरेको आरोप लगाउदै संबिधानको ब्याख्या गर्ने सर्वोच्चले सहि ब्याख्या गरेको बताए । प्रचण्डले सर्वोच्च अदालतले संबिधानको सहि व्याख्या गरेको भन्दै यसमा सर्वोच्चलाई धन्यवाद दिनुपर्ने बताए ।





प्रतिक्रिया