काठमाडौं । जनता समाजवादी पार्टी (जसपा), नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सर्वोच्च अदालतले देशलाई अँध्यारो सुरुङबाट फर्काएको बताएका छन् । आइतबारबसेको पुनःस्थापित प्रतिनिधि सभाको बैठकमा भाग लिँदै अध्यक्ष भट्टराईले यस्तो बताएका हुन् ।
‘देशको कार्यकारिणीले देशलाई अँध्यारो सुरुङमा लग्ने काम गरेको र सर्वोच्चले त्यहाँबाट फर्काएको छ । यसलाई हामी सम्मान गरौँ,’ भट्टराईले भनेका छन् । यस्तै भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने बताए ।
भट्टराईले प्रतिपक्ष दललाई लक्षित गर्दै माओवादी जनयुद्धमा टाउकोको मोल तोक्ने व्यक्ति तपाईंहरू नै होइन भन्ने प्रश्न गरे । अहिले कसैले कसैलाई थर्काएर‚ बार्गेनिङ गरेर जनयुद्धका मुद्दालाई ब्युँझाउने काम नगर्नसमेत आग्रह गरे । ‘हामी त मर्न भनेर हिँडेका थियौंँ‚’ भट्टराईले भने‚ ‘तपाईंहरूले नै ५० लाखको पुरस्कार हाम्रो टाउकोमा हाल्नुभएको होइन ?’
जनयुद्ध नभएको भए संघीय लोकतान्त्रिक गणतन्त्र आउने थिएन भन्दै नेपाली समाजमा अझै पनि धनाढ्य र परजीवी शक्तिको अस्तित्व रहेको बताएका छन् । अहिलेको समयमा आएर पुराना कुरालाई बल्झाएर‚ थर्काएर केही नहुने भन्दै उनले कोभिड महामारीको विषयलाई सम्बोधन गरेर खोपलाई जनताको पहुँचमा पुर्याउनुपर्ने भएकाले खोपका लागि मुख ताकेर बस्न नहुने भट्टराईले बताएका छन् ।





प्रतिक्रिया