काठमाडौँ — नेकपा एमालेको विवाद संसदीय समितिमा समेत देखिएको छ । संसद् पुनःस्थापनापछि पहिलोपटक आइतबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा एमालेका दुई पक्षबीच भनाभन भएको छ । बैठकमा एमाले वरिष्ठ नेता माधवकुमार नेपाललगायत सहभागी छन् । त्यस क्रममा नेपालले संसद् पुनर्जीवित भएको भन्दै खुसी व्यक्त गरेका थिए । उनले संघर्षबाट संसद् पुनःस्थापना भएको बताए ।
नेता नेपाललगायत बोलेको केही समयपछि बैठकमा एमाले अध्यक्ष ओलीपक्षका सांसद नारदमुनि राना प्रवेश गरे । उनले आफ्नो बोल्ने पालो आएपछि नेता नेपालप्रति कटाक्ष गर्न थाले ।
उनले संसद्लाई जनताले नभई सर्वोच्च अदालतले पुनःस्थापना गरेको बताए । उनले संसद् चाहिनेहरू वैशाख २७ गते प्रधानमन्त्री केपी ओलीले विश्वासको मति लिइरहेका बेला कहाँ थिए भनी प्रश्न गरे ।
आक्रोशित हुँदै नेता नेपाल र सांसद भट्टले प्रतिगमनका मतियारहरू बाहिर जानुस् भने । प्रतिगमनलाई साथ दिने अनि समितिमा आएर जथाभावी भनेको भन्दै नेपाल र भट्टलगायत कांग्रेसका सांसदहरू पनि सांसद रानामाथि खनिए । रानाले अनावश्यक कुरा गरेको भन्दै एमालेको नेपाल पक्षका सांसदले असन्तुष्टि जनाए ।





प्रतिक्रिया