काठमाडौं स् जनता समाजवादी पार्टीका कार्यकारिणी समिति सदस्य तथा निलम्वित सांसद रेशम चौधरी पार्टीको विवादमा तटस्थ बसेका छन्।
सोमबार दिउँसो निर्वाचन आयोगमा उपस्थित भएका चौधरी आफू दुवै पक्षमा नखुल्ने भन्दै तटस्थ बसेका हुन्। सनाखतका लागि आयोग पुगे पनि चौधरीले कुनै पनि पक्षमा हस्ताक्षर गरेनन्। पार्टी एकताका लागि आफू तटस्थ बसेको उनले बताए।
आपसी वैमनश्य समाधानका लागि आफू आयोगमा आएको पनि चौधरीले बताए। ‘जेलबाट आएर एउटा पक्षमा हस्ताक्षर गर्न मेरो नैतिकताले दिएन। मेरो पक्ष पनि जसपा हो, विपक्ष पनि जसपा हो’ उनले पत्रकारहरुसँग भने।
निर्वाचन आयोगले आज जसपाको आधिकारिकता सम्बन्धी विवादको टुंगो लगाउँदैछ। आयोगले जसपाको आधिकारिकता विवाद निरुपणका लागि इजलास गठन गरेको थियो।
इजलासले साउन ७ गते कानुनी बहस सकेर पार्टी एकीकरणका बेला संलग्न कागजातसहित ५१ जना कार्यकारिणी समितिका सदस्यहरुलाई आज उपस्थित हुन आदेश गरेको थियो।
सोहीअनुरुप जसपाका नेताहरु निर्वाचन आयोग पुगेका छन्। अर्का अध्यक्ष महन्थ ठाकुर पक्षले त्यसलाई रोक्न आग्रह गर्दै आयोगमा दिएको निवेदन अस्वीकार गरेको छ।
५१ सदस्यीय कार्यकारिणी समिति सदस्यमा ३४ जनाले यादवको पक्षमा र १६ जनाले महन्थको पक्षमा सनाखत गरेका छन्। टीकापुर घटनाका जेलमा रहेका रेशम चौधरी महन्थ ठाकुर पक्षका नेता हुन्। पछिल्लो समय उनी महन्थ ठाकुर र राजेन्द्र महतोसँग रुष्ट छन्।





प्रतिक्रिया