देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सर्वोच्च अदालतलाई मुख्यमन्त्री भट्टको जवाफ : मन्त्री संख्या संविधानले तोकेअनुसार नै छ

देशान्तर

काठमाडौं – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टसहित १३ जनाले आफ्नो मन्त्रिपरिषद्को संख्या संविधान अनुुकूल नै भएको दाबीसहित सर्वोच्च अदालतलाई जवाफ पठाएका छन् ।

मुख्यमन्त्री भट्टसहित आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश शाह, आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का, भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारी, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनिता चौधरी, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री मानबहादुर धामीका साथै भौतिक पूर्वाधार विकास राज्यमन्त्री चुनकुमारी चौधरी, सामाजिक विकास राज्यान्त्री मनाकुमारी साउद, आर्थिक मामिला तथा योजना राज्यमन्त्री अर्चना गहतराज र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री मानबहादुर सुनारले सर्वोच्च अदालतलाई जवाफ पेस गरेका छन् ।

मुख्यमन्त्री भट्टले गत १४ जेठमा मन्त्रिपरिषद विस्तर गरी मन्त्रीको संख्या ११ पुर्‍याएको र यो संख्या प्रदेशसभाको कुल संख्याको २० प्रतिशत भन्दा बढी भएको भन्दै २७ जेठमा धनगढीका कमल राना, सुरेश रोकाया र अधिवक्ता अपेक्षा निरौलाले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।

संविधानअनुसार प्रदेशसभामा कायम सदस्यको बढीमा २० प्रतिशत कायम रहनेगरि मन्त्रीपरिषद् विस्तार गर्न सक्ने प्रावधान रहेको छ । ५३ सदस्यीय प्रदेशसभामा माओवादी केन्द्रका झपट बोहरा बर्खास्त भएपछि अहिले ५२ जना मात्र छन् । ५२ जनालाई संविधानको धारा १६८ को उपधारा ९ बमोजिम २० प्रतिशतले गणना गर्दा १०।४ हुने भएकाले मन्त्रिपरिषद् संविधान विपरीत रहेको दाबी रिटकर्ताहरुको थियो ।

तर सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो भने मुख्यमन्त्रीसहित मन्त्री र प्रदेश प्रमुखको कार्यालयसँग लिखित जवाफ मागेको थियो । मन्त्रीहरुले समेत सर्वोच्चलाई जवाफ दिदै मन्त्रिपरिषद् संविधान सम्मत रहेको दाबी गरेका छन् ।