देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

खोप खरिदमा सहजीकरण गर्न चिनियाँ राजदूतलाई अर्थमन्त्री शर्माको आग्रह

देशान्तर

काठमाडौं – सरकारले चीनबाट कोरोना भाइरस विरुद्धको थप खोप खरिद गर्न चाहेको बताएको छ । अर्थमन्त्री जनार्दन शर्माले नेपालका लागि चिनिया राजदुत होउ याङछीसँगको भेटमा यस्तो बताएका थिए ।

नेपाल सरकारले चीनबाट थप खोप खरिद प्रक्रिया अघि बढाएकोले भन्दै मन्त्री शर्माले यसमा राजदुतबाट सहयोग र सहजीकरण हुने विश्वास व्यक्त गरेको अर्थमन्त्रीको सचिवालय स्रोतले जनाएको छ ।

अर्थमन्त्री जनार्दन शर्मा र राजदूत याङ्छीबीच शुक्रबार मन्त्रालयमा भेटवार्ता भएको छ । भेटमा अर्थमन्त्री शर्माले कोभिड महामारी र भूकम्पछिको पुननिर्माणमा प्राप्त भएको चिनिया सहयोगको लागि धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि चिनिया सहयोग र सदभाव निरन्तर रहने विश्वास व्यक्त गरेका छन् ।

मन्त्री शर्माले कोभिडविरुद्ध जनतालाई खोप लगाउनु सरकारको प्राथमिकताको काम भएको भन्दै चीनले १८ लाख डोज खोप अनुदानमा दिएकोमा आभार प्रकट गरेका छन् । सरकारले चीनबाट ४० लाख डोज खोप भने खरिद गरिसकेको छ ।

मन्त्री शर्माले चिनिया सहयोगमा नेपालमा सञ्चालित विभिन्न आयोजनाहरुको कार्यन्वयनमा अनुगमन गरी देखिएका समस्या समाधान गर्न र कार्यसम्पन्न गर्न सरकारको तर्फबाट तदारुकता रहने प्रतिवद्धता व्यक्त गरेको बताइएको छ ।

चिनिया लगानीमा अघि बढिरहेका सडक, जलविद्युत, विमानस्थललगायतका निर्माणाधिन परियोजना सम्पन्न गर्न नेपाल सरकारले गर्नुपर्ने कामहरुको सम्बन्धमा गंभीरतापूर्वक ध्यान दिने प्रतिवद्धता उनले जनाए ।

भेटमा चिनिया राजदुत होउले जुनसुकै सरकार आएपनि नेपाललाई हेर्ने चिनिया नीति र दृष्टिकोणमा परिवर्तन नआउने धारणा व्यक्त गरेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।