काठमाडौं – अमेरिकी परियोजना एमसीसी सम्झौता खारेजको माग उठिरहेका बेला सत्तारुढ नेपाली कांग्रेसका सांसद प्रदीप गिरीले विदेश नीतिबारे दलहरुको साझा दृष्टिकोण बनाउन जरुरी रहेको आवश्यकता औंल्याएका छन् । नेकपा एमालेका सांसद डा. भीम रावलले शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता पारित गर्न नहुनेमा जोड दिएपछि उनले विदेश नीतिबारेमा दलहरुको साझा दृष्टिकोण बनाउन जरुरी रहेको बताएका हुन् ।
‘पहिले हामी साझा दृष्टिकोण बनाऔं, भारतकाप्रति, चीनकाप्रति, अमेरिकाकाप्रति,’ सांसद गिरीले संसदको विशेष समयमा भने, ‘अनि सन्धि खारेज गर्ने, के गर्ने, के नगर्ने । को राख्ने, को नराख्ने । यो राष्ट्रिय नीतिको सवाल हो ।’ उनले सबै दलहरु साझा विदेश नीतिप्रति प्रतिवद्ध हुनुपर्नेमा जोड दिए ।
‘जबसम्म दलहरु साझा विदेश नीतिप्रति प्रतिवद्ध हुँदैनन्, तबसम्म समस्या रहन्छ’, उनले भने, ‘हामीमध्ये एकअर्कालाई तल देखाएर, तलमाथि देखाएर मुखको तितो पोख्छौं ।’ उनले नेपालीले ‘माल पाए पनि चाल नपाएको’ टिप्पणी गर्दै अहिलेसम्मका कुनै पनि प्रधानमन्त्रीले स्वदेशमै भएको सम्भावनाबारे गम्भीर रुपमा बुझ्न नचाहेको जिकिर गरे ।
‘हामी विदेशी सहायता बिना पनि आत्मनिर्भर बन्न सक्छौं । हामीले हाम्रा देशका संशाधनलाई माल पाएर चाल नपाएको शैलीमा अगाडि बढाइरहेका छौं’, गिरीले भने, ‘कोही नेता अपवाद छैनन्, कुनै मन्त्री अपवाद छैनन्, कुनै प्रधानमन्त्री अपवाद छैनन् । उनीहरुले आफ्नो आत्माभित्र चिहाएका छैनन् । मनभित्र हेरेका छैनन् । बाहिर मात्रै हेरेका छन् । लिने कुरोमा पनि, दिने कुरोमा पनि ।’





प्रतिक्रिया