देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

ईश्वर पोखेरलले भने– नेपाललाई दोस्रो अध्यक्ष स्विकारिँदैन

देशान्तर

काठमाडौं – नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधवकुमार नेपाल पक्षले राखेको दोस्रो अध्यक्षको प्रस्ताव स्विकार गर्न नसकिने बताएका छन्।

पोखरेलले नेपाल पक्षले सञ्चार माध्याममार्फत राखेका ती प्रस्ताव पार्टीको विधि र विधानभन्दा फरक ढंगले आएको उल्लेख गर्दै स्विकार गर्न नसकिने प्रतिक्रिया दिएका हुन्।

शुक्रबार थापाथलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा आयोजित साउन १५ को खीर खाने कार्यक्रममा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले कार्य दलले सहमति जुटाएर पार्टीको केन्द्रीय समितिले अनुमोदन गरेको १० बुँदे सहमति कार्यान्वयन गरेर पार्टीलाई एकताबद्ध बनाएर लैैजानुपर्नेमा आफूहरूको जोड रहेको पनि स्पष्ट पारेका छन् ।

माधव नेपाल पक्षबाट दैनिकजसो विभिन्न प्रस्ताव आउने गरेको उल्लेख गर्दै महासचिव पोखरेलले ती प्रस्तावबारे आफूले बुझ्न नसकेको पनि बताए। उनले पार्टीभित्र देखिएको विग्रहकारी स्थितिको अन्त्य छिटो हुनुपर्नेमा पनि जोड दिएका छन्।

त्यसका लागि जिम्मेवारीपूर्वक भूमिका खेल्न महासचिव पोखरेलको नेपाल पक्षसँग आग्रह छ। महासचिव पोखरेलले पार्टी एकताको विषयलाई टुंग्याएर पार्टीको महाधिवेशनको तयारीको कामलाई अघि बढाउन लागिएको जानकारीसमेत दिए।

यस्तै एमालेले शनिबार पार्टी स्थायी समिति बैठक बोलाएको छ। बैठकमा पार्टीको आगामी महाधिवेशनमा केन्द्रित भएर छलफल हुने एमालेले जनाएको छ। माधव नेपाल पक्षसँगको एकताको विषयलाई छिटो टुंग्याएर महाधिवेशनमा केन्द्रित हुन आफूहरूले चाहिरहेको महासचिव पोखरेलको भनाइछ।