देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मन्त्रिपरिषद् विस्तारबारे प्रधानमन्त्री देउवा र प्रचण्डबीच छलफल

देशान्तर

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार बिहान छलफल भएको हो ।

प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार उनीहरुबीच मन्त्रिपरिषद् विस्तार र समसामयिक विषय छलफल भएको थियो ।

गत असार २९ गते प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैनन् । काँग्रेस र माओवादीबाट २–२ मन्त्री र एक राज्यमन्त्रीका साथमा देउवाले सरकार हाँकिराखेको अवस्था छ । २५ सदस्यीय मन्त्रिपरिषदमा १९ मन्त्री नियुक्त गर्न बाँकी छ ।

काँग्रेस, माओवादी, जसपा, माधव नेपाल समूह र जनमोर्चा सम्मिलित गठबन्धनबाट देउवालाई मन्त्री छान्न सकस परेको छ । यद्यपि जनमोर्चाले सरकारमा नजाने नीति लिएको छ भने नेपाल समूहले पनि ठोस निर्णय गरिसकेको अवस्था छैन ।

काँग्रेस, माओवादी र जसपा भने मन्त्री बन्न हानथाप चलिरहेको छ । देउवाले सरकार बहुमतमा रहिरहने गरी मन्त्रिपरिषद् विस्तारको गृहकार्य गरिरहेको देखिन्छ । उक्त विषयमा आज विहान देउवा र प्रचण्डबीच पनि छलफल भएको थियो ।

आइतबारसम्म नेपाल समूहबाट सरकारका सन्दर्भमा निर्णय आउने प्रचण्डको भनाइ थियो । जतिसक्दो चाडो मन्त्रिपरिषद विस्तार गर्ने विषयमा देउवा र प्रचण्ड दुबै सहमत रहेको भानुले बताए ।